Subscribe:

Ads 468x60px

06 September 2010

ओ मैच्याङ, उमेरले के भन्छ ? #आनी

वर्षैपिच्छे Me2लुगा फाट्दै जानु, केश फुल्नु पाकोपनको सूचक हुन सक्दैनन्, तर अचेल केश फुल्दै गइरहेछ । ऐना हेर्दा घना रूपमा रहेको कालो केशको चेपचेपमा टुसाएका एकाध सेता रेसाले पनि बडो गिज्याए जस्तो लाग्छ । भएबचेका त्यतिका कालो केश साबुत रहेकोमा खुसी रहन छाडेर ओइलाइसकेको कुरातर्फ मोह जाग्ने यस्तो हुने रहेछ मानवीय प्रकृति ।  मलाई पनि यस्तै भएको छ । एउटा आम मानिसको जीवनमा जन्मोत्सवको अवसरमा केक काट्ने कुनै मेलोमेसो नहुँदो हो, मात्र उसले केकको साटो जीवन काटिरहेको हुँदो हो । र त्यसैमा मग्न हुँदो हो । म पनि त्यस्तै हुँ कि जस्तो लाग्छ । हरेक वर्ष जन्मोत्सवमा बल्लतल्ल अक्षर फुटाउन सक्ने मेरी निरक्षर आमा “काले, भगवान्‌ले तेरो कल्याण गरून्” भन्ने लोली भर्दै मेरो समृद्धिको कामना गर्न भुल्दिनन् । आज पनि एकाबिहानै आमाको फोन आयो । त्यही बोली ।

“ह्याप्पी बर्थ डे”, कनीकुथी फोनमै फुसफुसाइन् । आमाको निरक्षरता मलाई बिझ्दैन कहिल्यै, उनको हार्दिकता र ममतामा सिङ्गो विश्‍वविद्यालय प्रकट भएर आउँछ । त्यसबाट म झन्-झन् दीक्षित हुँदैछु ।

भदौ २१ गते (सेप्टेम्बर ६), म च्याँहा-च्याँहा गर्दै रोएर धर्तीमा झरेको दिन, यो धर्ती (सायद) मुसुक्कme हाँसेको थियो । त्यतिबेला हाँसेको थिएन धर्ती भने पनि अब हँसाउने प्रयत्‍नमा छु म । र सायद म त्यसैको लागि बाँचिरहेछु क्यार ! बाँच्नुपर्छ पनि । हरेक वर्ष चाहेर पनि वा नचाहे पनि जन्मदिन आउँछ । एकछिनको बधाई साटासाट, पुराना दिनको एलबममा आँखमिचौली खेल्यो अनि फेरि उही पुरानै दिनको लम्बिएको फेरो । अर्को जन्मदिनको प्रतीक्षामा आँखा फट्टाएर हिँडे झैँ केही अलमल-अलमलको यात्रामा एकोहोरिनु छँदैछ । कपालसँगै फुल्दै गएका परिपक्वताको मात्रामा पातलै सही तह बढ्दै गए पनि उमेरमा छ नै के भन्ने लाग्छ । भर्खरको शिशुले पनि कति कुरा जानिराखेको हुन्छ होला, बोधको हदमा ऊ केही न केही होला , तर त्यसलाई प्रकट गर्ने भाषा ऊसँग नहुँदैमा कसरी उसलाई ‘केटाकेटी’को तहमा सीमित गर्न सक्छौँ हामी । अहिलेसम्म भएको त्यही नै त हो । आशा गरौँ, जन्मनासाथै शिशु बोल्नेछ कुनै दिन ।

पहिलेको जन्मदिनमा साथ रहेका धेरै कुरा अहिले साथमा छैनन् । गडगडाएको खहरेले फेदीमा आएपुगेर अँगालोबाट फ्याँकेको दाउरा र मुढा जस्तै छुटेका छन् कुराहरू । अब आउँदो जन्मदिनको स्वागत गर्न लाग्दा निश्चय पनि अहिले साथ रहेका धेरै कुरा म सँग हुने छैनन् । जीवन क्षणभङ्गुर छ, यसैले भनिन्छ ।

जन्मदिनको शुभ कामना दिने सबै आत्मीय साथीहरूलाई धन्यवाद । साथीहरू छन् र धनी भएकोमा खुसी हुन पाइएको छ । अन्त्यमा, केही दिनअघि लेखेको एउटा कविता राखेर बिदा हुन्छु ।

-- आनी --
 1-Young-Buddhist-Monk2
टाँगेर चिवरमा सिङ्गै आकाश
कता बढ्दैछ गुलाबी यात्रा
नसोध्नू उसलाई


उसको मुडुलो टाउकोमा
हतारिँदै घुमेको कस्तुरी देखेर
कसलाई लाग्यो रिँगटा,
चकमक घोटिएर सल्किएको
धपक्क मुहारमा परेर
को क्षणमै जल्यो र तडि्पयो -
छैन हिसाब


सडकमा ट्राफिक जाम चिर्दै
खुल्न सक्छन् जीवनमा
झ्याल र ढोकाहरू
एक्कासि बढ्छन्
आहाल बस्न थालेका धड्कनहरू
सम्हालिँदै छुकछुकाउँछन्
श्वासनलीको लिकभरि


छातीको खोपमा
शान्तसित उसले पालेको जोर परेवा
अँटाउँदैनन् कुनै मुठीमा,
कतै आसपासमा
बहुलाएको भीड
घाटका एक्ला रुखहरू
तलाउको एक कुनामा कुहिएको कमल
सबैसबैको लाग्छ माया


किन रुँदैनन् यहाँका मान्छे
किन छैन फुर्सद
एक फाँको हाँस्न
राख्न मन छ उसलाई प्रश्नहरू
हरेक बुद्धका आँखा-आँखामा


चिवर ओढेकी सुन्दरी
ठमठम बढिरहेकी छे
चिराचिरा कालो पृथ्वीलाई जोड्दै ।

5 comments:

  1. धाइबा जी ... यहालाई जन्म दिनको हार्दिक मंगलमय शुभ कामना !
    सधै फलोस फुलोस - हरियाली भै रहोस जीवन ! धन्यबाद !

    ReplyDelete
  2. फेरी पनि शब्द को जादुगरी....
    म लठ्ठिदै छु !

    ReplyDelete
  3. आहा ! साँच्चै शब्दको जादु नै हो जस्तो लाग्यो मलाई पनि ।

    जन्मदिनको शुभकामना !

    ReplyDelete
  4. धाइबाजी को ब्लगमा नआएको धेरै भएको हो कि ब्लगको शिर्षक नै फेरिएको हो? जे जसो भए पनि जन्मदिनको
    शुभकामना । कपालमा सेतोपन कमहोस,अनुहारमा खुसी र उमंग छाहोस। जन्मदिनको शब्दजाल रमाइलो लाग्यो। अहिलेलाई बिदा,जदौ।

    ReplyDelete
  5. janmadin ko subhakamana!!! kabita mann paryo.शान्तसित उसले पालेको जोर परेवा
    अँटाउँदैनन् कुनै मुठीमा,
    कतै आसपासमा
    बहुलाएको भीड
    घाटका एक्ला रुखहरू
    तलाउको एक कुनामा कुहिएको कमल
    सबैसबैको लाग्छ माया ....khelne thau chha yeha..

    ReplyDelete