Subscribe:

Ads 468x60px

13 January 2013

‘ब्ल्याक एन्ड ह्‍वाइट जिन्दगीमा रङ बेचिरहेका छौं’ - राजवल्लभ

RajBallav-Koiralaकेही समयअघि नेपाली फिल्मका आशलाग्दा नायक राजवल्लभ कोइरालासँग भेट्ने मेसो मिल्यो । बहाना थियो - विदेशबाट निस्कने एउटा नेपाली पत्रिकाको लागि अन्तर्वार्ता गर्ने । अन्तर्वार्ताका लागि जानुअघि जय नेपाल हल पुगेर उनले अभिनय गरेको ‘अपवाद’ हेरें । युवा निर्देशकको प्रयास प्रशंसनीय नै लाग्यो । वर्षौं निश्चित आकारप्रकारको टापमा खाँदिएर बसेको नेपाली फिल्मको खुर एकैचोटि विस्तार हुने अपेक्षा गर्नु मिल्दो कुरा पनि होइन । एक समय नेपाली फिल्मको पर्याय बनेका राजेश हमालको धङधङी र ढर्राबाट बिस्तारै मोडिंदै छ फिल्मक्षेत्र । मोडिने क्रममा संक्रमण पनि पक्कै देखिएको छ । पढेका बौद्धिक नायकमा दरिए पनि पर्दामा त्यसअनुसारको छनक नभएका राजेश हमाललाई किन महानायक भनिन्छ, थाहा छैन । उनका धेरै फिल्म हेरियो । कुनैको छाप पनि मनमा छैन । फिल्म राम्रो बन्नु-नबन्नुमा कथा, पटकथा र निर्देशकीय कौशलको कुरा भए पनि दिइएको भूमिकामा त कलाकार (यदि हो भने) को केही न केही  खुबी देखिनुपर्ने हो । तर महानायकको हरेकजसो फिल्ममा उस्तैखाले गर्जन मात्रै सुनियो  ।
बरु राजवल्लभ जस्ता केही नयाँ कुरा दिऊँ भन्ने सुझबुझसहित आएका युवामा भर लाग्छ । यसैले नेपाली फिल्मको दिशा बदल्न युवा पुस्ताले बोकेको नयाँ कम्पासबारे जान्न उनैसँग कुरा गर्ने भइयो  । ‘पर्खिबसेँ’ फिल्मबाट नेपाली फिल्मक्षेत्रमा डेब्यु गरेका राजबल्लभ छोटो समयमै चल्तीका नायकमा दरिन सफल भएका छन् । कलेज अफ फिल्म स्टडिजको पहिलो ब्याचका उत्पादन उनी चिन्तनशील र सुझबुझ भएका कलाकार  मानिन्छन् । पोखरामा चार वर्षसम्म एफएममा कार्यक्रम समेत चलाएका रहेछन् उनले ।
ललितपुरको एउटा क्याफेमा उनी फरासिलो रुपमा प्रस्तुत भए : 


छोटै समयमा लोकप्रिय बनेसँगै तपाईँबाट नेपाली फिल्मक्षेत्रले आशा पनि बढी गरेको छ, त्यो जिम्मेवारीबोध कत्तिको भएको छ ?

म जुन पुस्ताको प्रतिनिधित्व गर्छु, त्यो पुस्ता शिक्षित भएकाले परिवर्तनको खोजीमा छ । नेपाली फिल्मक्षेत्र परिवर्तनको संक्रमणमा रहेकाले यसले पनि परिवर्तन खोज्नु स्वाभाविक हो । म अभिनय पढेर आएको कलाकार भएकाले पनि अपेक्षा अलि बढी छ । म पहिले मिडियामा लागेको भएकाले पनि समकालीन कलाकारभन्दा मिडिया र दर्शकले हेर्ने दृष्टिकोण पनि फरक छ । त्यही अपेक्षालाई परिपूर्ति गर्ने गरी काम गर्दै छु ।

अभिनय पढेर आउनुभएको मान्छे, पढेर र परेर काम गर्दा के फरक हुने रै'छ ?

गर्दै जाँदा सिक्नलाई धेरै समय लाग्छ । त्यस क्रममा जे भोगिन्छ, त्यो कुरा मात्र जानिन्छ । पढेर आउँदा नभोगेका कुरा पनि र अरुहरूको भोगाइ पनि पढिन्छ । त्यसमा आफ्नो वर्तमान भोगाइ र सेरोफेरोको जीवन पनि जोड्न सकिन्छ । पढेको मान्छे अलिक चिन्तनशील, सुन्न र बुझ्न खोज्ने हुने भएकाले उसले नयाँ केही दिन सक्ने ठाउँ हुन्छ । पढ्नेले ढिपी गर्दैन, विकल्प पनि हुन सक्छ भनेर सोचाइको ढोका खुला राख्छ । आफूले महान् काम गरेको दाबी गर्दिनँ । मैले कोसिससम्म गर्ने हो ।

फिल्मबारे पढेर आउनुभएको हिसाबमा जुन गम्भीरता र गहिराइ तपाईंले खोजिरहनुभएको छ, त्यसअनुसारको प्लेटफर्म नेपाली फिल्मले देला जस्तो लाग्छ ?

कलाकारमा मात्र गम्भीरता आएर हुँदैन । हामी कलाकार त रङ र औजार मात्र हौं, यो औजारलाई निर्देशकले के-कसरी प्रयोग गर्ने त्यसैमा निर्भर गर्छ नतिजा । तर पछिल्लो समयमा हाम्रो फिल्मको बजार विस्तार हुँदै गएको देख्दा सकारात्मक सम्भावना देखिएको छ । हाम्रा साहित्यकारले गजब लेखेका छन्, संगीत संसारभरि बिकेको छ, हस्तकलाका सामग्रीले बजार पाएका छन् भने फिल्मको कथा र प्रस्तुतिकरण पनि राम्रो हुन नसक्ने कुरै छैन ।

पर्खिबसेँ फिल्मबाट अहिलेसम्मको अवस्थामा आइपुग्दा अनुभव कस्तो रह्यो ?

पाँच वर्षको फिल्मी यात्रामा हिजोभन्दा अलि बढी परिपक्व भएँ जस्तो लाग्छ । सुरु-सुरुमा फिल्म पढ्न थालेपछि निकै खतरा फिल्म मात्र गर्ने भनेर सोचिन्थ्यो, तर त्यो होइन र हुँदैन रहेछ । जतिसुकै पढे-जाने पनि धरातलीय यथार्थमा त्यसअनुसारको माहोल भइदिएन भने सोचले मात्र पनि हुँदैन ।

बाहिरबाट हेर्दा नेपाली फिल्मक्षेत्र जस्तो होला भन्ने लागेको थियो, यहाँ आइसकेपछि त्यो कुरा पाइयो कि फरक लाग्यो ?

फिल्मक्षेत्रबारे त्यति ठूलो कल्पना गरेको थिइनँ । नेपाली फिल्म नहेर्ने जमातमै पर्थेँ म । तर मैले अभिनय गर्न थालेपछि कम्तीमा मेरा साथीहरूले त हेरे नि भन्नेमा सन्तोष लाग्छ ।

नेपाली फिल्मका दर्शक त्यति छैनन् भनिन्छ, कारण के होला ?

हामी मनोरञ्जनको खेती गर्र्छौं, तर त्यसबाहेकको हाम्रो जिन्दगी दौडधुप र तनावपूर्ण छ । बिहान उठ्दादेखि राति सुत्दासम्मको जिन्दगी सरल, सहज र सुमधुर छैन । मनोरञ्जन त दोस्रो सूचीमा पर्ने कुरा हो । सुमधुर जिन्दगी बाँच्न थालेर जब र्सवसाधारणले कमाउने र जोगाउने वातावरण हुन्छ, अनि मात्र मान्छेले रमाइलो खोज्छ । जताततै अभाव र जीवनस्तर जहाँको त्यहीँ भएकाले प्राथमिकतामा मनोरञ्जन पर्न नसकेको हो । अस्तव्यस्त भएको माहोलमा हामी रङ बेचिरहेका छौं, आम जिन्दगी भने ब्ल्याक एन्ड ह्वाइट छ । यस्तो अवस्थामा नेपाली फिल्म जगत्सँग जे-जति सामर्थ्य छ, त्यहीअनुसारको प्रदर्शन गर्ने हो । पछिल्लो समयमा सोच फेरिएअनुसार फिल्ममा नयाँ-नयाँ कुरा आउन थाल्दा दर्शकले पनि तुलना गर्न पाएका छन् । यो सुरुवात हो ।

कलाकार भनेको लिन होइन दिन जन्मिएको प्राणी हो भन्ने गर्नुहुन्छ, तपाईंले के दिइरहनुभएको छ ?

मैले फिल्मक्षेत्रमा आफ्नो समय र संवेदना दिइरहेको छु । अभिनयमा दिने बनावटी संवेदनाबाट वास्तविक खालको प्रतिक्रिया खोजिरहेको छु । मैले अभिनयमा नक्कली रुवाइ रोए पनि त्यसको प्रभाव सक्कली रूपमा पर्ने गरी मिहिनेत गर्छु । सबभन्दा ठूलो कुरा, यस क्षेत्रलाई आफ्नो तर्फबाट केही दिऊँ भन्ने प्रयासमा छु । पाँच वर्षो दौरानमा मसान, अपवाद जस्ता फिल्मबाट फिल्मक्षेत्रमा केही सकारात्मक छाप पार्दै दर्शकको दिमाग केही फराकिलो बनाएको छ, त्यसलाई पनि देन मान्नुपर्छ । कथादेखि संवादसम्ममा सत्य-तथ्य चित्रणबाट पत्यारिलो नपार्दासम्म दर्शकको लागि नौटंकी हुन्छ भन्ने बुझेर राम्रो काम गर्दै जाने सोच छ ।

नेपाली फिल्मले कोल्टे फेर्ला भन्ने आशा गरिरहँदा हाम्रा अधिकांश फिल्ममेकरले त आफ्नो फिल्मको लक्षित समूह अलि निम्न-मध्यमवर्गीय दर्शकलाई बनाएको देखिन्छ नि !

सोचको दायरा सीमित भएका पुराना पुस्ताका फिल्मकर्मीहरूको मान्यता हो त्यो । उनीहरूमध्ये अधिकांशमा शिक्षित वर्गलाई लक्षित गरेर फिल्म बनाउने सोच र ल्याकतकै कमी रह्यो । फिल्म भनेको शिक्षा, चिन्तन र कलाको मिश्रण हो । नेपाली फिल्म र दर्शकको कुरा गर्दा कालु र बाघको लोककथा जस्तै छ । हिजो कालुले बाघ आयो, बाघ आयो भनेर कराउँदा गाउँलेहरू आए, तर बाघ आएको थिएन । फिल्मले कोल्टे फेर्दै छ, अहिले बाघ आएको छ, तर गाउँलेहरू उल्लेखनीय मात्रामा आइरहेका छैनन् । किनभने विगतका फिल्मकर्मीहरूले झारा टार्ने हिसाबले गरेको कामले नेपाली फिल्मप्रति दर्शकको सोचाइ नै बिगार्‍यो । अहिलेको पुस्ताका कलाकारले जस्तो नेपाली फिल्म हेरौं भनेर विगतमा कुनै पनि फिल्मकर्मीले बोलेका थिएनन् । हामीले बोल्दै छौं । कम बजेट भएकाले राम्रो फिल्म बन्न नसक्ने कुरा सत्य होइन । पैसाले फिल्मको विषयवस्तु निर्धारण गर्दैन भनेर बुझून् हाम्रा फिल्ममेकरले । तर बजारमा २५-३० रुपैयाँमा पाइने विदेशी फिल्म हेरेर त्यस्तो फिल्म बनेन भनेर नेपाली फिल्मलाई गाली नगरौं । बदल्ने प्रयास गर्दै छौं हामी ।

बाहिरका फिल्मसँग तुलना गर्न नमिले पनि उसोभए नेपाली फिल्म स्तरीय बन्न नसकेको अवस्थालाई पचाउँदै जे छ, ठीक छ भनेर बसिरहने त ?

हिजो नेपाली फिल्महरू कस्ता थिए, त्यो हेरौं । आज कस्ता छन् र यसले भोलि कस्तो सम्भावना देखाउँछ भन्ने कुरा महत्वपूर्ण हो । अहिले मुलुकको सबै क्षेत्र जस्तै फिल्ममा पनि संक्रमणको अवस्था छ । राजनीतिक उथलपुथलका बीच सामाजिक, सांस्कृतिक र आर्थिक वातावरण धमिलिएको बेलामा फिल्म क्षेत्रमा देखिएको परिवर्तनलाई सकारात्मक मान्नुपर्छ । फेरि, हामीकहाँ फिल्म कति बजेटमा बनेको छ, निर्माण गर्दा कति समय दिइन्छ र हाम्रो फिल्म उद्योग कस्तो छ भन्ने पनि बुझ्नुपर्छ । हाम्रो सिर्जनालाई हाम्रै सन्दर्भमा हेरेर विगतको अवस्थासँग तुलना गर्दा पक्कै सुधारोन्मुख देखिन्छ ।

हामीकहाँ बाहिरका फिल्म हेरेर त्यसको सिको गर्ने प्रवृत्ति पनि छ, तर त्यसरी सिको गर्दा पनि राम्रो प्रतिफल आउन नसक्नुको कारण के होला ?

सिको गर्न पनि दिमाग र तौरतरिका चाहिन्छ । त्यो चिन्तन हाम्रा फिल्मकर्मीमा भएन । हाम्रो फिल्मक्षेत्र जुन चरणमा छ, यतिबेला हेरेर सिक्न र प्रभावित हुन पनि जरुरी छ । हाम्रा आफ्नै अग्रजले राम्रो गरेका भए त्यही हेरेर सिक्दै जान्थ्यौं होला, तर संरक्षकविहीन अवस्थामा छौं हामी । सिक्ने स्रोत र आधार केही न केही चाहिन्छ । प्रभावित भएर गरेको काममा पनि प्रोसेसिङको प्रक्रिया हुने भएकाले त्यसमा आफ्नै सिर्जनशीलता दिन सकिन्छ । प्रभावित हुन पाइन्छ, तर तरिका आफ्नो हुनुपर्‍यो र त्यसमा हाम्रो समाज र जीवनशैली प्रतिविम्बित हुनुपर्‍यो ।

नेपाली फिल्म कहिल्यै हेर्दै नहेर्नेले पनि फिल्मलाई गाली गरेको देख्दा कस्तो लाग्छ ?

त्यो त अन्धाले हात्ती छामे जस्तै हो । नहेरी गाली गर्न पाइँदैन र मिल्दैन पनि । सुरुमा मैले नेपाली फिल्म नहेर्ने समयमा म पनि केही टिप्पणी गर्दैनथेँ, मेरो सरोकारको कुरै थिएन त्यो । राम्रो गर्न सकिन्न भने नराम्रो पनि गर्नुहुन्न भन्ने मेरो मान्यता रह्यो । तर अहिले राजनीतिदेखि मान्छेको सोचसम्ममा परिवर्तन खोजिएकाले त्यो दबाबका कारण हाम्रो फिल्म गाली खाइनहाल्ने कोटिको बन्न लागेको छ । हामीले एउटा भाषाको फिल्म खेल्छौं, दर्शकले १० वटा भाषाको फिल्म हेर्ने भएकाले स्तरीय फिल्म निर्माणका लागि दबाब पैदा गरेको छ ।

'हाइवे टु धम्पुस' फिल्मबाट हलिउडमा पाइला हाल्नुभएको छ, विदेशी फिल्ममा काम गर्दाको अनुभव कस्तो रह्यो, कति गाह्रो हुने रहेछ ?

उनीहरूसँग सबै कुराको योजना, पूर्वतयारी हुन्छ । यसले गाह्रो होइन, झन् सजिलो नै पारेको अनुभव गरेँ ।

फिल्मको सुन्दर पक्ष के लाग्छ तपाईँलाई ?

मेरो लागि आफ्नो एउटा जिन्दगीमा फिल्मको माध्यमबाट धेरै जिन्दगी जिउन पाउँदा सुन्दर लाग्छ । आफ्नो दुःखको अनुभूति त जसले पनि गर्छ, हामी चाहिं पात्र र चरित्रअनुसार अरुको दुःख र सुखसँग पनि हातेमालो गरिरहेका हुन्छौं । रुन, हाँस्न, आफू अरु नै कोही बन्न, माया गर्न सक्ने प्लेटफर्म फिल्मले दिएको छ । यही कुरा बाहिर गर्दा पागल भन्छन्, फिल्ममा गर्‍यो भने हिरो भइन्छ ।

कविता पनि लेख्‍नुहुन्छ, किताब निकाल्ने पनि सुर छ कि ?

नामको लागि र किताब निकाल्नभन्दा पनि आफ्नै भावना अभिव्यक्त गर्न लेख्छु कविता । कुनै दिन किताबै पनि निकालिएला । बरु कविता लेखनबाट अभिनय यात्रामा केही सघाउ पुर्‍याएको छ, कविता र अभिनय संवेदनशील कुरा हुन् । कवि सोच्छ र गम्भीर हुन्छ, कलाकार पनि सोच्छ, गम्भीर हुनुपर्छ । तर म आफूलाई कविको रूपमा लिदिनँ ।

मान्छेहरूलाई तपाईंको कविताले बढी मोहित बनाएको छ कि अभिनयले ?

कतिपय त फिल्म छोडेर कविता लेख्‍नू पनि भन्छन् । फिल्म नहेर्ने मान्छेले पनि मेरा कविता मन पराएका छन् । दुइटै कुरा ठीक लाग्छ, अभिव्यक्तिको माध्यम फरक भए पनि सबै कला हुन् । तर कविता आफ्नो हिसाबमा लेख्‍न पाइन्छ, अभिनय अरुको हिसाबमा गर्नुपर्छ ।

पोखरेली युवक फिल्ममा छाउँदै गर्दा धेरै युवतीको मन लोभिँदो हो, तपाईँ चाहिं कसैप्रति लोभिनुभएको छैन ?

म केही कुरामा लोभ गर्दिनँ । आफ्नो भाग्यमा छ, प्रभावित भइन्छ भने होस् । भएन भने टाउको दुखाइँदैन । तर मान्छेले राम्रो चिजलाई राम्रो भन्नुपर्छ । फूल सुन्दर भएर फक्रिएको छ, कुनै मान्छेलाई त्यसको सुगन्ध मन पर्दैन भने त्यो मान्छे नै गलत हो, फूल होइन । तर फेरि फूलप्रति बढी आकर्षित भएर उसले टिप्छ भने पनि ऊ नै गलत हुन्छ । मलाई पनि मान्छेहरूको आचरण र बोली मन पर्छ, कसैको अनुहार मन गर्छ । यस्ती भइदिए हुन्थ्यो भन्ने त पक्कै लाग्छ नि !

1 comment:

  1. sakaratmak socha nai kachii goretoko farakilo ujagar ho. arulai dos dinu vandapani aafailai ramro sanga nihalne bani koiralako sarai man paryo. sakartmak b4 ko lagi dherai dherai suvakamana chha.

    ReplyDelete