Subscribe:

Ads 468x60px

31 October 2010

DV सपना !

statue-of-liberty-america-flag

तासुकै चर्चाको एउटै तातो मफलर !

“डीभी भर्‍यौ” प्रश्‍नदेखि “यसपाली चाहिँ निशाना लाग्छ कि, भर्नुपर्‍यो फेरि'” भन्ने इच्छा जाहेरीको सिलसिला टन्नमन्न ।

“अब यहाँ नबस्ने”, अफिसमा एउटा दाइले सुस्केरा हाले । अफिसको ड्युटी टाइम सकिइसकेकोले अफिसमा धेरै नबस्ने, अब घरतिर हिँड्ने भनेका हुन् कि भनेको त, अमेरिकातिर उड्ने योजनाको खाका पो फुकाए ती दाइले । अफिसमै अर्को दाइ विरक्तिए, “यहाँ बसेर केही हुन्न, अब जाने ।” नभन्दै मेरै सामुन्नेमा आफ्नो एउटा साथीको र आफ्नो डीभी आवेदन अनलाइन मार्फत दर्ता गरे तिनले । हुन पनि सँगैका साथीले कति फड्को मारिसके, आफू कान्लामुनिको भ्यागुतामा सीमित बन्नुपरेकोमा चिन्ताको पहाड शिरसम्मै थुप्रिएको थियो ती दाइको । एउटा अफिसमा लगातार सात वर्षसम्म पसिना काढेको के फल मिल्यो, उनको गुनासोको खात छ । सायद अरूहरू धेरै जनाको पनि ।

Dream-Walker यो समय कोही विदेशको सुनौलो अवसर उतै जिम्मा लगाएर आफ्नो देश भन्दै फर्केर आएको र कोही भने अब यसरी टिक्न सकिन्न भन्दै सपनाको मुलुकतिर हानिने तर्खरमा रहेका दुवै परिस्थितिको बराबर साक्षी बन्न पुगेको छु । आकांक्षाका तह खप्ट्याउँदै जाने हो भने पक्कै पनि हुँदै जान्छ । सम्पन्नता र जीविकाको राम्रो मेलो पैल्याउँदै विदेश गयो भने पनि घर, परिवार र देशको भावनाको भुल्काहरू मनभरि जागेर भतभती पोल्छ । यतै देशमै बसूँ र केही गरूँ त सबैलाई अवसर र काम गर्ने वातावरणको कमी छ । ‘गरी खान देऊ’ भन्ने जस्ता अभियानको चालचुल त्यत्तिकै सुरु भएको छैन । गरी खाने वातावरणको पनि अभाव छ देशभित्र । काम गर्न कुनै निजी संस्थाभित्र (सरकारीमा पनि भनसुन र ढोगभेट नचल्ने कहाँ हो र ?) अवसर पाए पनि चाप्लुसी,  लोलोपोतोले ठीक्क पार्नुपर्ने गुटबन्दीको खेलमा जकडिएको हुन सक्छ सिङ्गो कार्यालय नै ।  सबैलाई बडप्पन र अदबका साथ सम्मान टक्र्याउनुपर्ने । सिनियर र जुनियर कर्मचारीको वर्गीय समाजको स-सानो पसल त्यहाँ स्वत: खुलेको हुन्छ । तपाईँले त्यहाँ काम गर्न सुरु गरेपछि त्यही साँचोमा नढली हुन्न । मान्यता नदिएर विद्रोह गर्‍यो भने तपाईँ एक्लो उम्मेदवार हुन के बेर !

अँ त, डीभी चिट्ठा भर्ने कुरामा भने मेरो आफ्नो कुरो अलि फरक छ । डीभी खुलेको बेलामा आवेदन हाल्ने लहर चल्दा म चाहिँ अहिलेसम्म आफूलाई पन्छाउँदै आएको छु । खै, विदेश गएर कमाइ-धमाइ गर्ने रूपमा आफू मानसिक रूपमा तयार नभएर हो वा आत्मविश्‍वासको कमीले हो, अहिलेसम्म डीभी आवेदन हालेको छैन । डीभी भर्ने कुरा चल्यो कि त हरेक वर्ष मैले यही ठट्टाले काम चलाउँदै आएँ- “डीभी भर्‍यो कि त परिहाल्ला, पर्‍यो भने जानुपर्छ, त्यही पर्छ भनेर आफू त भरिन्न । वित्थामा तनाव !”  ;)

यसपाली पनि डीभी आवेदन भर्ने सरसल्लाह भयो । फेरि पनि सपनाको देश भन्ने चलनचल्तीको आकर्षणमा पुतली भएर हेलिइहाल्ने मन पलाएन ।

जे छ, ठीकठाक छ भन्ने मध्यम स्तरको सन्तोकले कतै बर्बाद त गर्दैन ?

4 comments:

  1. डिभि को लहर देख्दा आफू पनि छक्क परिरहेको छु ! तर मेरो अन्तरआत्मा देखि नै डिभि भर्ने रहर छैन र अहिले सम्म भरिएको पनि छैन !

    बुझ्न सरल रहेछ है, यो लेख चाँहि ! :)

    ReplyDelete
  2. Nice article
    यो पोस्ट पढ्दा त मेरो मन को कुरा लेखेको जस्तो लाग्यो मलाई त

    ReplyDelete
  3. आफुलाई त अमेरिका जाने रहर छैन त्यसैले डी भी नभरेको..मुख्य कारण चै के भने म अंग्रेजीमा कम्जोर छु, तिनीहरुले नेपाली बुझ्दैनन भन्ने हो. अनि अर्को कुरा आफुलाई अरबी लेख्न पढ्न र बोल्न आउँछु त्यसैले कतार नै उत्तम ठाउँ देखेको छु. ;)

    ReplyDelete
  4. AAfu ta padne bela ma guchha kheldai thika bhayeo tesaile SLC pass na bhayeko le DV bharnai paina gathe

    ReplyDelete