Subscribe:

Ads 468x60px

13 November 2010

तिहार : केही झिलिमिली सम्झना

फूल र बत्तीहरूले टोल र बस्ती नै बेहुलीमा परिणत हुने तिहार पर्व ! पाला, दियो र मैनबत्तीमा खुसीको उज्यालो खोज्ने मानिसहरू ।

तिहार आयो कि त अनौठो रोमाञ्चकता सञ्चार हुन्छ ज्यानमा । जब पढाइ र सङ्घर्षको तराजुमा जोखिन जिल्ला छोडेर राजधानी छिरियो, सबै कुरा छरिँदै र भत्किँदै गयो, त्यसमा रमाइला चाडपर्व पनि परे । यसपाली पनि गाउँको आफ्नो चिनाजाना ढुकढुकी लिएर आउने तिहार विरानो रूपमा आयो । भन्न त भन्छन् मान्छेहरू, दसैँमा सबै जना गाउँतिर ओइरिने भएकोले काठमाडौँ सुनसान त हुन्छ नै, नरमाइलो पनि बन्छ । तर तिहारमा भने छ्याप्पै झिलिमिली बत्ती र आतिसबाजी गुन्यामान हुने भएकाले काठमाडौँ नै रमाइलो हुन्छ रे ! मैले भने पोहोर साल जस्तै सहरिया तिहारको रौनक हेरिरहँदा यसपालि पनि त्यो ‘रमाइलो’ बटुल्न सकिनँ । गाउँ नै आँखाभरि जालो बनेर छाइरह्यो ।

Flower--Udayapur'67. यसपाली दसैँमा नै फुलिसकेका थिए उदयपुरमा चक्कीचक्की सयपत्री 

तिहारमा देउसी-भैली खेलेर रातै छर्लङ्ग पारेको पुराना दिनहरू सम्झिँदा कुन उत्प्रेरणाले त्यो सबै गर्ने साहस आयो भन्ने लाग्छ अहिले सम्झिँदा । साँच्चै सपना जस्तै ती दिनहरू । उदयपुरको हाम्रो बस्ती स्वर्गको टुक्रा अनि हामी भुराहरू चाहिँ परीको लागि सुहाउँदा राजकुमार जस्ता ! भुरा पनि के भन्नु पट्ठो अल्लारे नै हो । गाउँघरमा केटाहरूको नाम लिँदा गणनाको पहिलो सूचीमै आउँथ्यौँ ! फलानोको छोरो, ढिस्कानोको नाति भनेपछि अझै ‘हाइट’ ह्‌वात्तै बढ्ने । शीतको छाता ओढेरै हल्का खरी झरेको मादल ठटाउँदै, बिट खुकुलिएको डफली ठोक्दै घर-घर चहार्दा हामी रातारात गायक र सङ्गीतकार भइसकेका हुन्थ्यौँ । “देउसी रे” भाका भट्याउनुका साथै क्यासेट होइन मुखबाटै आफ्नो मौलिक गीत सुनाउँदै सांस्कृतिक भ्रमण समेत  हामी त्यसैलाई बनाउँथ्यौँ । घरधनी समेत दङ्ग पर्थेँ हाम्रा बेग्लै पाराको देउसी प्रस्तुतिबाट । नत्र त्यस समय अरू देउसे टोली कि त थपडी मात्रै बजाएर, हद भए मादल थटाएर र कतिपय भने क्यासेटमा गीत घन्काएर उफ्रिन्थे । हामीले कुनै गीतलाई रिमिक्स बनाए पनि केही गीत आफैँले खोजेर, लेखेर गाएकाले जहाँ-जहाँ देउसी खेल्थ्यौँ, त्यहाँका घरधनीलाई नयाँपनको स्वाद मिल्थ्यो ।

फिल्म दर्पणछायाको गीत ‘लहनाले जुरायो कि …’ लाई रिमिक्स गरेर गाउँदा ‘उकालीको डाँडैडाँडा कुदे होलान् देउसे भाइ ... ’ बनेको थियो । मादलमा समलाको ताल खोज्दै गाउँको भित्ताभित्तामा हामी देउसे केटा उफ्रिन पाउँदा मन फुरुङ्ग भएको थियो ।

 Deusi-67काठमाडौँको तीनकुनेमा यसपाली देउसी खेल्दै गरेका फुच्चेहरू


अर्को मौलिक गीत यसरी झुमेर गाएका थियौँ र भावुक बनाएका थियौँ सबैलाई :

तिहार ऽऽ तिहार ऽऽऽ
माइतीबिना शून्य लाग्छ यो तिहार

दोबाटोमा कुर्दा-कुर्दा
चोली भिज्यो आँसुले रुँदा-रुँदा

Rangoli काठमाडौँको बागबजारमा एउटा पसल अगाडि बनाइएको रङ्गोली

एक सालको देउसी भने सधैँभरि चुर्लुम्म यादमा डुबाउने खालको छ । २०६० सालको कुरा हो । ७-८ भाइ थियौँ देउसी टोलीमा । भोलिपल्ट भाइटीका भए पनि रातैभरिको देउसीमा आँखा कचपल्टिने थाहा हुँदाहुँदै होमिएका थियौँ । घरको खप्कीले के काम गर्थ्यो वर्षमा एकचोटि आउने चाडबाडमा रामरमिताको अगाडि ! बुवादेखि छुलछुल मुते पनि ममीलाई दङ्ग्याएरै भए पनि देउसे टोलीमा सामेल भइएको थियो । बुवाको कुरामा अटेरी हुन पाउँदा विद्रोह नै गरेको जस्तो ढक्क छाती फुल्दा आफूलाई पनि ख्याल मजा नआउने ! “रात-विरात लखरलखर हिँडेर, कालबेला कस्तो छ केही थाहा छैन । चिसो लागेर बिरामी हुनलाई” भन्ने बुवाको मायालु गाली पनि आफूलाई त्यो उमेरमा तीतेपाती हुने ।

घिन्ताङ-घिन्ताङ !!
देउसी खेल्न सुरु भयो । चुहाडे र बाहुन डाँडा हुँदै खोलापारिको तोरीबारी गाउँसम्म देउसी खेल्ने जोस सबैमा सवार थियो । देउसी खेल्ने लालसा जम्मा भएको पैसा दामासाहीमा २०-४० रुपैयाँ पाउनेभन्दा पनि साथीभाइसँग बहकिन पाउनुको रमाइलो नै थियो । नाच्न नजाने पनि नाचेजस्तो गर्‍यो, गाउनमा सुर नलागे पनि आफूलाई रामकृष्‍ण ढकाल र राजेशपायल राई ठाने भैगो ! :-) (त्यसबेला आधुनिक गायनमा यी गायककै उच्च बोलबाला थियो) । यस्तैमा हाम्रो घरभन्दा थोरै पर रहेको लक्ष्मी म्याडमको घरमा देउसी खेल्न पुगियो । केटाहरूले देउसी खेलेको मन पराउने  लक्ष्मी म्याडम । फुरुक्क हुँदै झन् भट्याउन थाल्यौँ -

आहैऽऽ लक्ष्मी म्याडम – देउसी रे !
यतिले भएन – देउसी रे !
छेउमा भाँडामाथि भाँडा खप्टिएको ठाउँमा चुलोबाट धुवाँ पुत्ताइरहेको थियो । के रहेछ भन्दा त रक्सी बनाइँदै रहेछ त्यहाँ । काँचा केटाहरू घरबाट फुकेको कुकुर जस्तै हुन पाएका, रन्थनी छुटिहाल्यो तिनमा । सीपी दर्लामी, नविन राई, प्रदीप कार्की, अङ्कुल थापा, दिलीप यादव, नीराज गिरी, खड्ग माझी र मसहितको टोलीमा कतिपय त ‘हामी त जातले पा’को खान’ भनेर यत्तिकै दन्काइहाल्ने खालका प्राणी थिए । तर म र अरू एक-दुई जना कहिल्यै एक घुट्को छिराएका थिएनौँ । मौका यही हो भन्ने जस्तो भान परिदिए अरूहरूले ।

Flower--Udayapur'67फेरि झल्को उदयपुरकै : यसपालीको दसैँमा जाँदा फूलबारीमा जुन महक थियो

देउसेहरूलाई रक्सी चखाउन पाउँदा लक्ष्मी म्याडम पनि दङ्ग थिइन् । हुन त म लगायत केहीलाई प्राथमिक तहमा केटाकेटी बेलामा पढाउने उनै लक्ष्नी म्याडम थिइन् । तर यतिबेला समयको अन्तराल निकै पार भइसकेको थियो । म्याडम गाउँकी आन्टी जस्ती भइसकेकी थिइन् । छिमेकीको साइनो जो थियो ।

तुरुरुरु .. .. गिलास भरेर मेरो अगाडि ल्याइसकेछन् केटाहरूले । उहू !! नमीठो हरकले नाक पाछ्‌यो । झ्वाट्ट सोच आयो, नारायण गोपाल, अरूण थापाहरू के खान्थे ? रक्सी त हो नि ! :) त्यस्सै उनेरको गला त्यति सुरिलो भा’को हो र ? रक्सीले औषधिको पो काम गर्छ बाबै ! मैले त्यहाँ पनि  केटाहरूको बीच यही कुरा निकालेँ । फिलिलि हाँसे जम्मै । मलाई गिज्याए कि जस्तो लागेर सुरुमा त कार्टुन पो भएँ कि क्या हो भन्ने लाग्यो । भरे भन्दा त देउसी टोलीमा गाउने नाइके मैँ थिएँ, केटाहरूले जानी-जानी मलाई कहाँ बिगार्छन् र भनेर घाँटीतिर सोझ्याएँ गिलास । केटाहरूले पनि ‘हो है हो’ भन्दै गिलास स्वाट्ट पार्न उक्साए । केटाहरू उस्तै फलिलि हाँसिरहेका थिए । घाँटी खिर्‍याउँदै मन तातो झोल पेटमा अवतरण भयो ।

पछिल्ला वर्षहरूमा देउसी खेल्ने सुयोग नमिले पनि अझै गाउँछु म । यत्तिकै हिँडेको बेला खुब सुरमा आएर अनि बाथरुममा लुगा पिटपाट पार्दा पनि ।
स्वर सुरिलो पनि पो छ  त मेरो अहिलेका चलनचल्तीका ‘म्युजिक भिडियो गायक’ भन्दा त ! थाहा छैन, त्यो दिन रक्सी खाएको तागतले अझै काम गरिराखेको हो कि ! ;-)

5 comments:

  1. केही झिलिमिली सम्झना झ्वाट्ट हेर्दा केही लामो जस्तो लागेको थियो । पढदै जादाँ त क्या छिटो सक्के जस्तो लाग्यो ....अझै अरु केही लेख्या'भे पढन रमाइलो हुन्थ्यो जस्तो लागीरा'छ मलाइ त :)

    ReplyDelete
  2. हा हा हा ! अन्तिम को गिलास घुट्याको कुरा चाँहि रमाइलो रहेछ ! अनि के खेले होलान् त केटाहरुले देउसी ! :D
    पुराना अनुभव निकै नै रमाइलो हुन्छ, अझ गाउँ को तिहार सम्झेर काठमाडौँ मा मन नै रम्दैन !

    ReplyDelete
  3. जीवन जी ! अहिले सम्म नफुकाउनु भएको कुराको पोको खुलाउनु भो ! कतै ...यो पनि अर्को गिलासको सहयोग ले त होइन ? (हाहा ...)

    ...........
    हाम्रो भन्दा देउसी खेल्ने तरिका मज्जाको रहेछ !
    कति सरल त रमाइलो तरिकाले आफ्नो अतित लाइ प्रस्तुत गर्नु भएको रहेछ ! पढ्दा निकै रमाइलो महसुस गरे !

    ReplyDelete
  4. वेदनाथ दाइको कुरा घत पर्यो मलाई त । "जीवन जी ! अहिले सम्म नफुकाउनु भएको कुराको पोको खुलाउनु भो ! कतै ...यो पनि अर्को गिलासको सहयोग ले त होइन ? (हाहा ...)"

    मज्जा आयो दाइ पढ्नलाई...हामीले पनि मस्तले देउसी खेल्यौँ यसपाला त...

    ReplyDelete
  5. घत लाग्यो । स्मरण जीवनको । रमाइलो अतीत तर छट्टुपनबाट किशोर उतेजाना हुदै गतिको अलिकती उचाइ टपेजस्तो‌‌‌!!!कम्प्युटर सग गाउले पुराना साथी बीच पहुच नहुदा नहुदै, पतिनिधि साथी "म",यो 'शव्द'सग सौभाग्य अनुभूति गरे । वधाइ छ धाइबा जी!!
    अङ्कुल थापा (thapaankul@yahoo.com)
    उदयपुर,

    ReplyDelete