Subscribe:

Ads 468x60px

05 April 2011

जब पहिलो बच्चा जन्मियो

सुटुक्क बिहे गरेपछि बच्चा पनि सट्याकसुटुक नै जन्माउनुपर्छ भन्ने केही छ ? तर भयो त्यस्तै । जमाना विज्ञापनको छ भन्दैमा सबै कुराको प्रचार गर्नु पनि त भएन । नितान्त व्यक्तिगत भन्ने कुरा पनि हुन्छन् जीवनमा । लुकाएँ सबैबाट । तर तत्कालका लागि धक र सङ्कोचका कारण गुटुमुटु बनाएर राखे पनि एक न एक दिन त यस्तो अपूर्व खुसीको कुरा सबैलाई बाँड्नु नै थियो । आज त्यही मनको सिउनी धरर उधार्न मन लाग्यो ।

छोरी सबनम आई हाम्रो काखमा । छोराBaby वा छोरीको भेद कहिल्यै पलाएन मनमा, छोरी जन्मिँदा खुसीकै हाँसोमा रम्यौं हामी दुई  । बुढेसकालमा छोराले पालनपोषण गर्छ, छोरी त अर्काको घर गइहाल्छे भन्ने आदर्शको थेगो अब धमिराको दरबार भइसक्यो । राम्रो हुनु छ भने नौ डाँडापारि पुगेकी छोरीले पनि  सहारा दिन्छे । छोरोलाई पुलपुल्याएर पाले पनि उसैबाट पछि प्रताडित बनेका बाबु-आमा पनि देखेको छु मैले । आमा-बाबुको लागि छोरा हुन् या छोरी, आफ्नो मुटुको कुन र कतिऔं ढुकढुकी मूल्यवान् भने जस्तो हुन्छ जस्तो लाग्छ । फेरि हाम्रो कार्कीको वंशमा पहिलो सन्तानको रूपमा छोरी नै जन्मिएको रेकर्ड छ । केही गरी छोरा जन्मिए शिशु अवस्थामै अकालमै ज्यान गुम्ने गरेको छ । मेरो ठूलो दाइ बाँचेको भए पछिका हामी चार बहिनी-भाइलाई कति लाडप्यारले  हुर्काउँथ्यो होला ! हामी पाँच जना हुन पाएनौँ । ठूलो दाइ बाँचेको भए सन्तानको कोटा पुगेर मैं पो जन्मिदैन थिएँ कि ? चार-चार सन्तान कसरी पो हुर्काएछन् बा-आमाले ? झन् मेरा हजुरबा र आमाले आठ बहिनी छोरी र चार भाइ छोरालाई कुन साहसले जन्माए मेरी बास्सै ! हुन त जिम्बाल बा थिए ऊ बेला, खर्चबर्चको कुनै फिक्रि थिएन । नोकरचाकर पनि टन्न छँदै थिए । बूढाको मुटु पनि दह्रै रै’छ नि !

मेरो बुबाको जस्तै मेरो पनि पहिलो सन्तान छोरी नै जन्मिएकाले सायद हामीले त्यस्तो अनिष्‍टको सामना गर्नुपरेन । पत्‍नीको रूपमा प्रिय साथी नै बनेर घर भित्रिएकी संजिताको आडभरोसा अतुल्य छ यसमा । साथमा कति घामपानीबाट सिक्दै आएकी मेरी आमाको आडभरोसाले पनि मेरो पारिवारिक रथ सम्हाल्न निकै काम गर्‍यो । हामी सानै छँदादेखि पूजा-प्रार्थनामा पनि हाम्रै भलोको कामनामा समय खर्चने आमाको ‘लाटो माया’को जति बखान गरे पनि कमै हुन्छ ।   उहाँकी नातिनी सबनम खिलखिलाउँदै हुर्किंदैछे । दूधले बलिया हुँदैगएका उसको नरम गिजाभित्र कुनैबेला आफ्नो औंला कर्‍याङमर्‍याङ चपाइन पुग्दा अपार आनन्द पाउँछु ।

घर-व्यवहारमा त्यति नघुलेको मान्छे म । धेरै काँचो थिएँ । बिहे गरेपछि सही लिक समात्‍न थालेको, छोरी जन्मिएपछि अझै जिम्मेवार र अरूका लागि पनि बाँच्नुपर्छ भन्ने जीवनको अर्को सत्यसँग पनि एकाकार हुँदै आएँ । साँच्चै, खास खुसी आफू बाँच्नु र आफ्नै मात्र ख्याल गर्नुमा रहेनछ । मान्छे किन फूलबारी गोडमेल गर्छ, फूल फुलाएर सन्तुष्‍टिको मुस्कान मुस्काउँछ, बल्ल बुझ्न थालेको छु । आफू बाहिरको सौन्दर्य चिन्न र देख्‍न मान्छेलाई केही बेर लाग्दैन । बरू आफूभित्रको रहस्य झन्-झन् गहिरो हुन्छ । अरूको खुसीबाट आफूलाई भिजाउन सक्नुमा रहेछ जीवनको सार्थकता ।

“बिहे गर्नु र सम्बन्धमा बाँधिनु भनेको धेरै ठूलो कुरा हो, तिमी बुझ्दैनौ” कुनै समय मैले प्रेमको प्रस्ताव  गर्दा एउटी युवतीले ब्वाइफ्रेन्ड र श्रीमान्‌बीचको भेद खुलाउँदै मलाई अर्ती दिएकी थिइन् । तिनले यो ब्लग पढ्दैछिन भने म त्यस्तो श्रीमान् भएको चाल पाएर छक्क पर्नेछिन् । हो,  तिमी पनि बुझ्दैनौ युवती, एउटा पुरुष मनमा ‘घर’प्रतिको भाव र सम्बन्धप्रतिको लगाव कति गहन र प्रेमिल हुन्छ, तिमी बुझ्दैनौ । म त्यही सतहमा छु अहिले ।

म जस्तो अलि आलोकाँचो पति पाएर हतास भई कि संजिता ? यही चिन्ता थियो मलाई । एउटा ‘घर’ नै बसाउने मेलोमा मान्छे लाग्दा यस्तो चिन्ता स्वाभाविक रूपले लाग्दो रै’छ । मैले सही साथ दिएको छु कि यत्तिकै ‘रिक्त स्थान पुरयेत’ पति जस्तो हुँदैछु भन्ने व्याकुलता पैदा हुँदोरै’छ । तर मैले डर पाले जस्तो त्यस्तो हतास छाया उसको अनुहारमा अझसम्म देखेको छुइनँ । मैले पनि त असल पति र कर्तव्यनिष्‍ठ पिताको भूमिका निर्वाह गरेकै हुँ । गर्दै आएकै छु । बच्चाको स्याहार र रेखदेख कसरी गर्ने भनेर काठमाडौँमा डेराको बसाइमा दिदी सुत्केरी भएपछि निकै बुझ्‍न पाएँ । बच्चा हुर्काउनु कति कठोर तप हो, कति कलात्‍मक सास्ती हो, नजिकबाट देख्‍न पाएँ । दिदी-भिनाजुको डेरा नजिकै मेरो पनि डेरा थियो  । भिनाजु अफिस जाने भएकाले दिदीले खाना खान र लुगा धुन कोठा बाहिर केहीबेर निस्किँदा सुतिरहेको अवस्थामा पनि भान्जालाई हेरिदिनुपर्थ्यो मैले । ओढाइदिएको ओढ्ने र थाङ्ना कुन बेला हातले यता-उता चलाएर मुख छोपेर निस्सासिने हो कि भनेर खुब हेक्का राख्‍नुपर्ने !  यसैगरी सहयोगी भिनाजुले दिदीको हेरचाह र माया गरेको देखेर पनि त्यो छाप मालाई परेको हुनुपर्छ । कतिसम्म असल पारिवारिक भूमिका निर्वाह गर्न सकिने रहेछ, गर्नुपर्ने रहेछ भनेर सिक्दै आइयो । अहिले त्यही काम लाग्यो । 

बेलाबेला छोरीले पिच्च-पिच्च सुरुवाल र थाङ्ना भिजाउँदा सुकाउने वा धुने काम पनि गरेकै छु । आमाको दूधले कुनै बेला नपुग्दा पोषणयुक्त लिटो पनि बनाएकै छु । चुरा बजेको हात थला परेर राम्ररी खट्न नसक्दा अस्तव्यस्त भएको कोठा पनि बढारकुँढार र टिपनटापन पारेर सपक्क मिलाएकै छु । हरदम आँऽऽऽ गरेर र्‍याल चुहाइरहने समस्या टार्न र्‍याले बाँधिदिएर मात्रै के गर्नु, हेरिराख्नुपर्छ कुन बेला लफक्क भिजेर अर्को फेरिदिने बेला भइसक्छ । सू गराउन पनि कमोडमाथि लगेर सूऽऽऽ गर नानू भनेर मैले लेघ्रो नताने कति थाङ्ना बिताइदिन्छे केटीले !

एक बेला मैले  घरमा जुठो लोटाउँदै र थाल-भाँडा मस्काउँदै गर्दा मेरो काकाको छोरीलाई भनेको पनि थिएँ- “हेर् काली, मैले बिहे गर्ने केटीले सुख पाउँछे ।”  कुरा सुनेर बहिनी खितखिताएकी थिई । नभन्दै त्यसले त मैले भनेको कुरा भिनाजुहरू सबै जनालाई फैलाइसकिछे । हुन पनि अहिले मेरी बुढियालाई हाइसन्चो छ ! ज्यान झिरिप्पै भएर हुनु न खानुको दुब्लो छ, केही गर्ने तागतै छैन जस्तो देखिन्छ भनेर मलाई पहिला उसले गरिरहने गनगन पनि अहिले बन्द छ ।  पहिले त मलाई लोसे, सुस्त र ढङ्गबिनाको देख्‍ने उही थिई । परिआउँदा सब गर्न सक्छु भन्ने जवाफ अहिले व्यावहारिक रूपमा दिँदैछु र संजिताको मप्रतिको हेराइ पनि अचम्म सँगले फेरिएको छ अहिले । माया र भरले यसरी हेराइ बदल्दो रहेछ ।

- “तपाई‌ त मायाको कुरा लेख्‍न मात्र जान्नुहुन्छ कि क्या हो ?”,
बिहे भएर आएको महिना दिनमा उसले छेड हानेकी थिई ।

नहानोस् पनि किन  ? म खुल्नै सकिरहेको थिइनँ ऊ सँग । एउटै पलङमा सुतेको अजीव जोडी ३६ को कोणमा विपरीत रूपमा सुते झैँ हामी खै कहाँ हराएका थियौं । उसलाई म अनौठो लाग्ने, मलाई ऊ । मैले यसरी ब्लग लेख्‍दा ऊ चाहिँ उध्रिएको सलवार र कुर्ता सिउने ध्याउन्नमा घोरिएर बस्थी कुनामा । न सरोकार न जिज्ञासा जस्तो !

जे होस्, पछि भने छोरी चुम्बक भएर आई हामीबीच । हामी सायद फलाम-फलाम जस्तै ठोस थियौं । कुनै कारणबिना पनि टकराव भइरहने जस्तो । अहिले मेरो दुब्लोपनको क्षतिपूर्ति छोरी भएर आएकी छे, अस्ति एक साता अगाडि किनेर ल्याइदिएको जामा ठीक हुनै छाडिसक्यो । जहाँ म पहिले कुल्फी खान्थे,  भुटेको चना फाँको हाल्थेँ, त्यही बजार चिर्दै अहिले म छोरीको लागि लुगाफाटो ल्याउँछु । कति फरक छ !
सबनम थिगिरी थिगिरी, ताते गर लौ ! नानी एक वर्ष पुग्‍न लाग्दा संजिता र मेरो भाका अचेल उस्तै छ ।
………….
सायद यस्तैयस्तै खालको पति र पिता बन्नेछु कि म पऽऽछि !!!!
कहाँ छे होली मेरी संजिता ? छोरीको नाम सबनम नै राखूँला ? मैं पनि त्यस्तो सहयोगी श्रीमान् बन्न सकूँला ? पहिलो बच्चा जन्माएको त कुरा गरियो, तर जन्माउन चाहिँ कतिवटा जन्माउने ?

16 comments:

  1. म त झस्के अन्तिमको लाईन नपढ्दा सम्म....पछी पो थाहा भयो यो त परिकल्पना रहेछ....सुन्दर।

    ReplyDelete
  2. सलल बगेको ..... मज्जा आयो पढेर !

    ReplyDelete
  3. हाहाहा हाँसो उठ्यो बन्धु...दिमागमा के मात्र आउंछ हौ तपाइंको ?

    ReplyDelete
  4. he he nice !! dimag majjale ghumchha ke dhaiba jee hajurko lekha haru padhda -- superb --kalpanik nai ho ni !! hoina ta ?!! :)

    ReplyDelete
  5. अप्रिल ५ मा आएर अप्रिल १ मनाए जस्तो लाग्यो । तर कथा चाहिं साह्रै रोचक लाग्यो ।

    ReplyDelete
  6. गजबको सोच्नु भए'छ ! मेरो पनि मन कुतकुत्यायो ....
    ..........
    कति लाइ कस्तो कस्तो सपना देखाउनु भएको थीयो ....ति सबैको यो पुरै नपढुन जेल त सातो गयो होला है ! (हाहा.....)
    यस्तै यस्तै लेख्दै जानुहोस ... धार र प्रस्तुती निकै राम्रो रहेको छ ! धाइबा जी !

    ReplyDelete
  7. Sanu GhimireApril 05, 2011

    राम्रो लेख्नु भा छ जिवन जी...पाहिले प्रेमका कुरा पढ़ियो , तेसपछि बिहे गर्न मन लाग्यो भन्ने कुरा पढ़ियो , अब बच्चाको कुरा पढ़ियो , अब छोरीको बिहे को कुरा पनि पढ्न पाईएला ..हेहेहे .....लेखाई उस्तै मिठो छ

    ReplyDelete
  8. 'धाइबाजी, पुत्रीलाभ गरेर पिता बन्नुभएको सुनेर हर्षित भएँ । यहाँलाई सन्तानलाभको हार्दिक हार्दिक बधाई छ है ।' - पऽऽछि यसो भनौंला । अहिले चैं रमाईलो मानेर पढियो ।

    ReplyDelete
  9. धाइबाजी, हार्दिक बधाइ ! भनेर पछि भनौँला !!!

    अहिले चाँही बधाइ, रमाइलो गन्थन को लागि !!!

    ReplyDelete
  10. के विधि झुक्याउने गरी लेख्न जान्या होला :)। तर पढन् भने गज्जब मजा आयो !

    ReplyDelete
  11. वा धाइवा सर, तपाइको यो स्वैरकल्पना साह्रै मिठो लाग्यो है ।

    ReplyDelete
  12. हा हा जीवन जी निकै मजा आयो पढ्दा

    ReplyDelete
  13. यम घिमिरेDecember 15, 2011

    ओहो कति आनन्द्को कथा जस्तो कल्पना हो नि बाफ्रे! लौ तपैले त मलाई सारै गुन लगाउनु भो यार यो कथाबाट. म ४ बर्ष कि छोरी र उसकी आमालाई काठमाडौँमा छोडेर निक्कै टाडा छु अहिले. मैले एति बिधि आनन्द लिन सकें के मेरी छोरी जन्मदा ? सायद सकिन कि किनभने मैले यो पढेकै थिन. लाखे है त अब तेस्तो दिन आएछ भने......तपाइको 'म' जस्तै हुन मनलाग्यो मलाई त. कति मन पर्यो तपाइको यो लेख भनि साध्य नै छैन.

    ReplyDelete
  14. Super Hit, Box Office jamayo.

    ReplyDelete
  15. कौतुहलतामा बग्दा बग्दै सक्किएछ मनोकथा, अरु त के भनुँ र - संगिताहरुले हेरुन, पढुन र छिट्टै सबनमको स्वामित्व स्विकार्ने रहर गरुन। यत्ती लेख्न सक्ने मनले कदापी श्रीमतीलाई दुखी चैं नबनाउला - यो मेरो विश्वाश हो।

    ReplyDelete