Subscribe:

Ads 468x60px

07 September 2011

जन्मदिन, जन्मदाता र जोखाना

भदौ २१, बिहानै जन्मदाताको फोन आयो गाउँबाट ।
सोधनी भयो :

– “नुहाइस् ?”

– “उहुँ !”, भर्खरै त छाडेको थिएँ ओछ्‌यान । अघिल्लो दिनको घुमफिर र साथीभाइसँग भेटघाटको थकान थियो । अंग्रेजी क्यालेन्डरअनुसार भने अघिल्लै दिन सेप्टेम्बर ६ मा जन्मदिन परेको थियो ।

– “पूजा-आजा गरिस् त ? म त तेरो लागि मन्दिर गएर आइसकेको, लड्डु पनि चढाएँ ….”
आमाको बोली अझै थामिंदैन – “पशुपतिनाथले रक्षा गरून् भन्दा सधैं झर्कोMom, Bro n Me Wid Bhotu मान्छस्, हेर तिनै हुन् सच्चा र दिगो बाबु-आमा, हामी त नक्कली, आज छौं- भोलि छैनौं ।”

मलाई दिक्क लाग्छ ।

आमा पछिल्ला केही समययता बढी नै निराशापूर्ण कुरा गर्न थाल्नुभएको छ । एकदम निरस पनि । मूर्तिपूजामा मन एकोहोरिएको कट्टर धार्मिक । आफ्नो लागि कुनै रहर र खुसी साँच्नु केही छैन । झोंक चल्छ मलाई, त्यति फोन गर्न पनि मन लाग्दैन । फोन गर्‍यो कि कुनै बेला बोल्दाबोल्दै सुकसुकाउनुहुन्छ अनि मनै अमिलो हुन्छ । फेरि-फेरि फोन गरेर त्यो पिरो बोली सुन्ने साहस कसरी हुनु ?

– “दाजु-भाइ मिलेर बस, तेरो थाई जागिर होस्, त्यति भए मलाई सन्तोक हुन्छ”, भक्कानो उर्ले जस्तो आमाको गला थर्थराएको प्रस्टै सुन्छु ।

आमाहरू सधैं सन्तानकै पीरमा सुकुटी भइरहन्छन् । मेरी आमा पनि सुकुटी परेकी । ग्यास्ट्रिकको रोगी छिन् तर चियाको पारखी हुनुपर्ने ! बिहानभरि कति‍-कति खेप चिया, दिउँसो १२ - १ बजेतिर खाना २ - ४ गाँस ! चियाबाहेक पीरैपीरको सुरुप लिन्छिन् । पीर नहोस् पनि किन ? चार सन्तानमध्ये दुई छोरीहरू बिहे भएर आ-आफ्नो घर खाने उपक्रममा लागे । छोराहरू उच्च शिक्षाको लागि काठमाडौं पसेका, जागिरे धुनमा अझै लाखापाखा बसिरहेछन् । वर्षको एकचोटि दसैंमा बल्लतल्ल घर फिर्ने मेसो मिल्छ, त्यो पनि कुनै बेला त त्यसै हुस्सिन्छ । अनि नचिसिने बूढा आँखाहरू कुन होलान् ? अरू बेला गाउँको फराकिलो आँगनमा बूढा-बूढी एक्लै । 'बाह्र छोरा तेह्र नाति' उखान एकसम सजीव भएर आउने ।  एक समय केही बिगार गर्दा डाँडै थर्काएर झाँको झार्ने बाको स्वर अचेल त निर्जन गुफाबाट झर्ने तिरतिरे जरुवा जस्तै मसिनो भएको छ । आदेश दिने त्यो स्वरले आजकाल सल्लाह र आडभरोसा खोज्छ । उसबेला थर्कमान बनाउन एकोहोरो फारिने र धारिलो बन्ने ती आँखा पनि हल्का जालो लागे झैं फुस्रिएका छन् – भासिएको  गहिरी खेत ! ती आँखामा हामी सन्तानकै सपनाको कपास झ्याङ्गिएर हो कि, खुइलिएका छन् नानीको गेडी पनि  पुरानो भोटो जस्तै ।

नेपाली मितिभन्दा एकदिन अगाडि अंग्रेजी क्यालेन्डरअनुसार जन्मतिथि परेको थियो । यसैले सेप्टेम्बर ६ मै मन उत्सवमय भयो । एउटा साथीसँग पुलचोकको घाङ्ग्री क्याफे पुगें । पृष्ठभूमिमा मधुर संगीतको गुन्जनमा बिहानको खाजा + खाना एकैचोटि खाइयो १ बजेतिर । साथीसँग गए पनि खासमा म एक्लै थिएँ । एक्लोपन रोग कि आदत, वा रुचि ? थाहा छैन । तर एक्लै भएर आफैं आफ्नो साथी हुनुमा, हुन सक्नुमा परमानन्द छ !

कपाल फुल्न सुरु भएको कुराले सुर्ता लाग्न थालेको छ । कपाल छँटाउन नाइकोमा पुग्दा उसको बोली समेत रिसउठ्दो लाग्न थालेको छ, भन्छ – “कपाल त धेरै फुलेछ तपाईंको, उमेर कति भो ?”   कपाल र उमेरको पनि साइनो हुँदो रहेछ है भनेर आफैंलाई झस्काउन थालेको छु । कपाल फुल्नु र फूल फुल्नु एउटै कुरा होइनन् । तर दुवै प्राकृतिक कुरा । सेतै फुलेका हजुरबा-आमाहरूले पनि कालो मेहन्दीमा आफूलाई लुकाएको देख्छु । त्यसरी उमेरदार देखिने मोह आफैंलाई उत्साह भर्ने प्रयास हो कि अरूसामु आफू पुरानो मानिस र कमजोर देखिन नचाहने बहाना हो, बुझ्दिनँ ।

कपाल फुल्नु परिपक्वताको प्रमाण हो मूर्ख ! भन्दै साथीहरूसामु ठट्टा गरेर आफूलाई ढाडस पनि दिन्छु । तर आफूमा परिपक्वता खोतल्दा भने शून्यता पाउँछु । जति हिँडे पनि अजिङ्गर जस्तो गुजिल्टिएको यात्रा बाँकी नै छ, जति सिके पनि अज्ञानता खोपडीभरि छ ।

बिहीबार एकादशीको दिन जन्मेको बालक निकै ठूलो र विद्वान् (असल भन्ने चाहिं सुनिनँ है !) मान्छे बन्छ यो भन्थे रे पण्डितहरूले मलाई । आमा अझै पनि दोहोर्‍याई-तेहेर्‍याई भनिरहनुहुन्छ । सुनेर फिस्स हाँस्ने गर्छु म । भाग्यको पारख गर्ने कुरामा पत्यार नलागेर हो कि आफ्नै गति देखेर हो ! अथवा ठूलो र विद्वान् भन्ने परिचय मेरो मानसिकतामा निकै विराट् भएर पनि हुन सक्छ । हामी मान्छे फेरि आफैंलाई कम आँक्न खप्पिस पनि छौं । तर यथार्थमै कम रहेको आफूलाई कम आँक्नु मेरो कमजोरी पनि फेरि देख्दिनँ म । धेरै गर्नु छ, पण्डितहरूले निकै आँकेको त्यो बालक अझै बामेसम्म पनि सरेको छैन कि जस्तो लाग्छ ।
त्यो बालकलाई जन्मदिनको शुभ कामना !! Smile

9 comments:

  1. I didn't know it was your birthday yesterday. Anyway belated Happy Birthday. Wish you a very good writing life ahead. And by the way the writing above is very heart touching. I can understand what it means. Take care and good wishes again.

    ReplyDelete
  2. एक समय केही बिगार गर्दा डाँडै थर्काएर झाँको झार्ने बाको स्वर अचेल त निर्जन गुफाबाट झर्ने तिरतिरे जरुवा जस्तै मसिनो भएको छ । आदेश दिने त्यो स्वरले आजकाल सल्लाह र आडभरोसा खोज्छ ।

    ReplyDelete
  3. kapal fuldaima k ko pir linu hao..... afno kapal fuleko 12 barsa vaisakyo ra ta nirdhakkai 6u. anyway, belated happy birthday Dhaibajee.

    ReplyDelete
  4. "......आमाहरू सधैं सन्तानकै पीरमा सुकुटी भइरहन्छन्.......... चियाबाहेक पीरैपीरको सुरुप लिन्छिन्........ डाँडै थर्काएर झाँको झार्ने बाको स्वर अचेल त निर्जन गुफाबाट झर्ने तिरतिरे जरुवा जस्तै मसिनो भएको छ । आदेश दिने त्यो स्वरले आजकाल सल्लाह र आडभरोसा खोज्छ ।"
    धाइबाजी, साह्रै मार्मिक शब्द चित्र मुटुमै भक्कानो पार्‍यो।
    ..अनी त्यो बालकलाई मेरो पनि जन्मदिनको शुभकामना !

    ReplyDelete
  5. ए बुढा! रुवाउँछौ क्या हाम्लाई नि! के लेख्छन् लेख्छन् यार ! जे होस्, सारै मिठो । आमाको बाको कुरा "......आमाहरू सधैं सन्तानकै पीरमा सुकुटी भइरहन्छन्.......... चियाबाहेक पीरैपीरको सुरुप लिन्छिन्........ डाँडै थर्काएर झाँको झार्ने बाको स्वर अचेल त निर्जन गुफाबाट झर्ने तिरतिरे जरुवा जस्तै मसिनो भएको छ । आदेश दिने त्यो स्वरले आजकाल सल्लाह र आडभरोसा खोज्छ ।"मनपर्यो।

    ReplyDelete
  6. ysto kura le runa aaucha nwyz haappie bday,,,aafulai koi bhanda kam aaknu hunna bhanne hamlai lagcha

    ReplyDelete
  7. यस्तै धेरै, 'म-हरुको' कथा ! तर यती सुन्दर बाँन्कीमा सुनेको थिईन ! जन्मदिनको शुभ कामना !!

    ReplyDelete
  8. मैले उ दिनमा पढ्न खोजेको लेख समयले आज जुरायो! लेख यसरि लेख्नु हुन्छ कि आँखा त्यहि गाडिराखौ!
    "एक समय केही बिगार गर्दा डाँडै थर्काएर झाँको झार्ने बाको स्वर अचेल त निर्जन गुफाबाट झर्ने तिरतिरे जरुवा जस्तै मसिनो भएको छ । आदेश दिने त्यो स्वरले आजकाल सल्लाह र आडभरोसा खोज्छ।" यो सम्योजनले अझै झड्का दियो!

    ReplyDelete
  9. had just heard that you write awesome but reality seeing this i am stun.. and happy belated birthday.!!!!!

    ReplyDelete