Subscribe:

Ads 468x60px

04 September 2008

कविजी, पहिले मान्छे बन्नुस् !

केही वर्ष भयो, नेपाली साहित्य तथा समग्र ज्ञानगुनको भण्डारमा पुस्तक प्रकाशनले कछुवाको सुलसुले घस्राइ होइन, भ्यागुताको छलाङ लगाउन थालेको छ । अरु त अरु, साहित्यको 'स' उच्चारण गर्दानगर्दै 'लालाबालाहरूले पिँढीभरि कुन्नि के जातिको रास' भनेझैँ लेख्यो कि त हरेक तोतेबोली नै एकाध महिनामा पुस्तकको बिटोमा रुपान्तरित हुने । अनि त नेपाली साहित्यको भण्डार भरिपूर्ण !

विशेषगरी कवितामा (साथै गजलमा पनि) यस्तो हतारको रोग जेलिएको छ । साहित्यमा बढी लेखिने विधा कविता नै भनिन्छ । र, कवितासाहित्यको रोचकता यतिमै सकिन्न, बढी लेखिने भए पनि कम पाठक कविताकै छन्, यो गुनासो साहित्यिकहरूको । छैन त गजब ? र, एक हिसाबमा केलाउने हो भने (नेपालमा/नेपालीमा) यस्तो कम पाठक हुनुको कारण के रहेछ भने, जति जना पनि कविता पढ्छन् ती आफैँ पनि कविता लेख्छन् । अर्थात् यस हिसाबले कविता लेख्ने मान्छेले मात्र कविता पढ्ने निष्कर्ष हामी निकाल्न सक्छौँ ।

कविता रुचाउने अथवा आफैँ लेख्‍न रुचाउनेले कविता पठनमा अधिक रुचि देखाउनु स्वाभाविक भए पनि लेख्‍नेले मात्र पढ्ने कुरा पूरापुर सही होइन । मेरै आमुन्नेसामुन्नेका सरसङ्गतिबाट पनि देखेको छु- जो लेख्दैनन्, उनीहरू धुरन्धर लेखकलाई पनि माथ गरिदिने खालका बिछट्टै पढनदास छन् । राम्रो लेख्‍नलाई सकेजति धेरै पढ्नुपर्छ भन्ने सामान्य सूत्रलाई स्वीकार गरेर आधार मान्ने हो भने हामी लेखिटोपल्नेहरू ती पाठकभन्दा गएगुज्रेका छौँ । खासगरी कविहरू । जो राम्ररी पढ्दैनौँ यो त छँदैछ, राम्रो लेख्दैनौँ पनि । नतीजा यति मात्र हात लाग्छ- कागज र समयको सर्वनास । अरुको पढ्दै नपढ्ने र आफ्नो विज्ञापनमा चाहिँ ठाउँ-कुठाउँ भट्याइरहने । मानौँ लेख्‍नुको ऊर्जा सबैसबै भाषणमा खन्याएर लेखकको मर्यादा चुल्याउने व्यग्रता छ सबैलाई । यो कुरा अहिलेको पाठक समुदाय तथा फेसनेवल समयको घेराबन्दीले पनि अझै मिल्छ भने 'एक टुक्रा है' भन्दै सडकछेउ उभिँदाउभिँदै तीन पाना कविता पनि चिरिप्पै सुनाइदिने !

साहित्यको उत्थान एवम् सङ्ख्यात्मक-गुणात्मक विस्तारका लागि बढीभन्दा बढी सर्जकको सक्रियता चाहिन्छ भन्ने मतलाई एकातिर राख्‍ने हो भने, बढ्दो सर्जक-भीडले नेपाली साहित्य 'मुखभरि धेरै जिब्रो भएर लठेब्रो हुनपुगेको नमूना प्राणी'जस्तै भएको छ । यो सधैँको रोग हो । पछिल्लो समयमा त गजलमा समेत यो भदौरे भेलबाढीले शिष्ट र सन्तुलित लेखनका पक्षधरहरूलाई धुरुक्कै रुवाएको छ । यस्तो भनाइबाट जोसुकैले साहित्य लेख्‍नुहुँदैन, यो त मुठीभरका ठेकेदारको मनलाग्दी रजाइँ हो भन्ने नबुझियोस् । तर लेखनमा कोही आएपछि उसमा केही कला तथा समयचेत या त लज्जाशीलताको छनक हुनुपर्ने कुरोमा निरपेक्ष रहन कदापि सकिन्न ।

केही वर्षपहिलेको कुरो हो, साझा प्रकाशन ललितपुरमा भएको एक भेटमा गरिमा मासिकका सम्पादक तथा मदन पुरस्कारविजेता स्रष्टा गोपाल पराजुलीले फ्याट्ट किटेरै कहे- 'नेपालमा ४० हजार कवि छन्, सम्हालिसक्नु छैन ।' टेबलभरि कविताका बडेबडे फाइल उधिनिरहेका उनको पिरलो सम्पादकीय दायित्वमा रहेर कवि र कविताको छनोट गर्नुमा थियो । जाहेर थियो, त्यो दायित्वमा उनको दिमाग तुफानी वेगसाथ उम्लिएको थियो । अर्कातिर, आजका सम्पादकहरू कविता छाप्न भनेपछि झर्कोफर्को मान्दै कोसौँ दूर भाग्छन् । 'कविता होइन, बरू छोटामीठा गजल-गीत ल्याउनुस् न' भन्न उनीहरू फूर्ति चलाउँछन् । कविताको मर्म र गहिराइभन्दा पत्रिकाको स्पेस बचाउने धुन तिनलाई प्यारो छ । कविताले एउटा साहित्यसचेत सम्पादकबाटै हेलाहोचो खेप्नुपरेको छ । यस्तो परिस्थितिको निर्माण हुनुमा कवि/अकविहरूको कमजोरी-असावधानी र फटाइँको भुमिका कति छ, सम्पादकहरूको गैरजिम्मेवार प्रवृत्तिको कति छ ? ठन्डा दिमागले सोच्ने बेला आएको छ ।

अर्को प्रसङ्ग सम्झिन्छु- केही महिनाअघि पर्वत जिल्लाबाट पुस्तक छपाईको मेलोमेसो मिलाउन राजधानी आएका कवि गणेशकुमार जीसीसँग बागबजारस्थित साथीको पुस्तकपसलमा भेट भयो । कविताका मूल भित्री पृष्ठहरू पर्वतमै छापिइसकेको रहेछ, आवरण पातो तथा कम्प्युटरबाट अन्य कलाकारी निखार सुल्झाउन उनी धपेडीमा थिए । उनका केही कविताहरू त्यसै भेटको मेसोमा पढिभ्याएँ । मोफसलको गतिलै घानमा सायद उनी परेका थिए, यसैले त दमदार कविता लेख्‍ने भए पनि राष्ट्रिय पत्रपत्रिकामा रचना प्रकाशन नभएका कारण उनको परिचय नितान्त नौलो लाग्थ्यो ।

उनको कविताकृतिको नाम रहेछ- अग्नियात्रा । तर कृतिको नाममा ह्रस्व-दीर्घको वर्णविन्यासगत पेच खुस्किएको कुनै विद्वान्‌बाट औँलो ठडिएपछि गणेशजीलाई ज्वरो छुटेको थियो । थाहा पाएपछि उदीयमान सर्जकको पहिलो कृति, त्यो पनि अशुद्ध रुपमा आउने भयो भनेर हामी साथीहरूलाई पनि दुःख लाग्यो । हुनुपर्ने 'अग्नियात्रा', भएछ- अग्नीयात्रा । अब के गर्ने - छापिन बाँकी आवरणबाहेक छापिइसकेको प्रत्येक पानाहरूको फेदमा 'अग्नीयात्रा' नै अङ्कित भइसकेको थियो ।

खर्च गरेर छापिइसकेको कुरामा उपाय अरु थिएन । कविजीले कविताको शुद्धाशुद्ध हेरिदिन नेपालीका एकजना शिक्षकलाई अनुरोध गरेर त्यहीबमोजिम राखेर छापेका रहेछन्, त्यसैलाई आधार बनाएर दोषको भागीदारबाट आफू जोगिन कृति-कृतिकारको नाम तथा प्रकाशक-संस्करण आदि रहने पृष्ठमा शुद्धाशुद्ध हेर्ने भनेर ती शिक्षकको नाम चढाउने जुक्ति निकालेछन् कविले । अन्त्यमा त्यसैगरी त्यो चलाखीपूर्वक छापिएछ पनि । त्यस्तो सबै जानेबुझेर कविजीप्रति टीठ लागेर आयो मलाई ।

साहित्यमा भाषा/व्याकरण ठूलो कि भाव भन्नेमा छुट्टाछुट्टै बहस चलाउन सकिन्छ । लेखनपछिको सम्पादनको प्रक्रियाको कुरामा पनि आँखा चिम्लिन सकिन्न । लेखक एक्लै हरेक कुरामा परिपूर्ण हुनुपर्छ भन्ने अड्डी कस्नु कुखुरा भुर्र उडिरहोस् भन्नुजस्तै अव्यावहारिक हुन्छ । तर भावको वाण हान्ने साहित्यिकहरू भाषा/व्याकरणको सामान्य ताँदो चढाउन त सिपालु हुनैपर्छ । सोचौँ त, 'म मोती समातिरहेछु' लेख्‍नुपर्नेमा 'म मोटी समातिरहेछु' भनेमा के अर्थ लाग्ला ? अल्पज्ञान भयङ्करम् भएन ? विधिअनुरुप बिहे गर्न खोज्ने अनि सिउँदोको सीधा रेखामा सिन्दूर भर्न नजान्ने भएर कसरी हुन्छ ? सिन्दूर हाल्न अर्को मान्छे खोज्नुपर्‍यो भने त्यो बिहेको हविगत के होला ? करिब-करिब त्यस्तै हो लेखनको हकमा पनि ।

यो समस्या कविहरूको मात्र होइन । तर, मुख्यगरी कविहरूको हो । विम्ब र प्रतीकको गुजमुज्ज भाका उन्यो, गोष्ठिमा हात नचाएर फलाक्यो अनि त कवि भइयो ! यस समस्याको निराकरणका लागि भाषा-व्याकरणको बन्द प्रशिक्षण लिएर पूरा तयारीको साथमा साहित्यको मैदानमा आउन हाँक दिनु यस लेखको आशय होइन । लेखुन्जेल प्रयोगमा थोरै भए पनि गम्भीरता र सचेतता जाग्नुपर्छ र गल्तीबाट मनन गर्दै सिक्ने तत्परता हुनुपर्छ, बिस्तारै ठीक आकार आइहाल्छ ।
कविजी, पहिले सिन्दूर हाल्ने हात सोझ्याउनुस्, आफ्नो बिहे सकेसम्म आफैँ गर्नुस् । पहिले मान्छे बन्नुस् अनि लेख्‍नुस् मानवताको कविता । कि कसो ?

सेप्टेम्बर ३, २००८ (नक्साल)

7 comments:

  1. ए बा! धाइवा जी यो पोष्ट पढेर त म एकचोटी मजैले ढलेको महशुश गरे। कुराहरु घुमाईघुमाईकन मजैले फन्को लगाइदिनुभाछ लेखक/पाठक, कवि/श्रोता सबैलाई।

    सबै कुरो प्रष्टै छ। भएनि एउटा लफडा गरीहाल्छु है। आखिर तपाईले यही पोष्टमा केही लफडाकै चर्चा गरिहाल्नुभाकै छ क्यारे। त्यसैको आडमा सन्दर्भ बेग्लै भएनि यसो कुरो कोट्याउँछु है।
    "विधिअनुरुप बिहे गर्न खोज्ने अनि सिउँदोको सीधा रेखामा सिन्दूर भर्न नजान्ने भएर कसरी हुन्छ ?" र "कविजी, पहिले सिन्दूर हाल्ने हात सोझ्याउनुस्" भन्ने वाक्यलाई महिला कविहरुको हकमा मिलाउँदा पटक्कै मेल खाएन। यो वाक्यले तपाईको गहन विचारलाई पुरुष कविहरुकै हकमा मात्रै लगेर थुपारीदियो। आखिर कवि या लेखक त दुवै हुन् नि। अनि दुवैको हकमा उही कुरा लागू हुने होला हैन र? यदि त्यसो हो भने दुबैलाई समेट्ने वाक्य तपाईको शब्द भण्डारमा बेस्कन छन् भन्ने मेरो विश्वास हो। बस अलिकति खोतल्दैमा पर्लक्क पल्टिन्छ। यदि त्यसो हैन भने त बाबै! या त नाक घोक्राउँनै पर्ने हुनसक्ला महिला कविहरु खरो उत्रिएकाछन् भनेर। या त महिला कविहरु नै रहेनछन् कि क्याहो भनेर पीरै गर्नुपर्ने बेला पो भो त। यी दुवैमा मेरो बकम्फुस्से कुरा बढी र साँचो कुरा कमै मात्रामा छ होला भन्ने मेरो अनुमान छ।

    यो नियतवस भएको हैन, म जान्दछु। म कविताको क पनि नजान्नेलाई कविता लेख्न प्रेरित गर्ने व्यक्तिबाट यस्तो हुन पुग्नु ख्याल नगरेरै हुन सक्ला। तैपनि एउटा साथीको नाताले मनमा लागेको कुरा किन थन्काइराख्नु भनेर नि ओकलीहालेको।

    यो बारे अरु कुरामा लेख्न सक्ने ल्याकत ममा आउन बाँकी छ है साथी।

    ReplyDelete
  2. क्या काइदाको मनको कुरो गर्दिनुभयो धाइबाजी! मेरो मनमा पनि यस्तै कुरा धेरै खेल्छन्, लेख्ने आँट जुटाउँदै थिएँ, तपाईँलेनै भ्याइदिइसक्नुभएछ।

    नेपाली साहित्यमा कविताको ब्यापक मानमर्दन भएको छ। लेख्न नजान्नेले त लेख्छन् लेख्छन् तर लेख्न जान्नेहरुले पनि अरु लेख्न छोडेर कवितै लेख्छन्। वर्तमानका धेरैजसो 'स्थापित' नेपाली कविहरुका कविताहरु अनावश्यक लम्बेतान हुन्छन् र कविता हो कि निबन्ध हो छुट्याउन मुश्किल हुन्छ। अलिक मेहेनत गरे गतिलो निबन्ध र यदाकदा कथानै बन्ने जिनिसलाई पनि मान्छेहरु किन ऊँट आकारकै सही, कविताकै टोपी भिराईदिन चाहन्छन्, बुझ्न गाह्रो छ।

    परिणाम, नेपाली निबन्ध भोकमरीले सुकेको छ र नेपाली कविता चाहिनेभन्दा धेरै खाएर, अजीर्ण भएर रोगी र लोसे भएको छ।

    भाषा-शैलीगत कुरा नबुझी लेख्नेसंग लेखेकोमा विरोध वा गुनासो भन्दा पनि अलिक विधाको मान राखेर लेखिदिनुस् भन्ने आग्रहमात्र हो यहाँ धाइबाजीको, मेरो बुझाईमा। मेरो विचार पनि ठ्याक्कै मिल्न आइपुग्यो, बडा खुशी लाग्यो।

    साहित्य प्रकाशनका लागि पनि नातावाद-कृपावाद चाहिने हाम्रो अजीब देशमा कस्का रचनाले सजिलै ठाउँ पाउँछन् र को-को स्थापित हुन्छन्, यसको कथा फेरि बेग्लै छ।

    कैलाशजीले औंल्याउनुभएको तथ्य भने जायज छ है धाइबाजी। यसमा भने ध्यान पु-याउनैपर्छ। यतिमात्रै होइन, पूरै नेपाली साहित्य आजसम्म पुरुषको आँखाले देखिने प्रतीक र बिम्बहरुको भर परेर बाँचिराखेको छ। सबैतिर ध्यान दिएर लेखिएन भने यो परिवेशलाई फेर्न गाह्रो हुनेछ।

    ReplyDelete
  3. म , भुत्ते खुर्पा लिएर दाउरा घाँस जानेलाई जंगलमा जनावारको डर त छँदैछ त्यसमाथी दाउरा घाँसको भारीनै पुर्याउन नसकिएलाकि भन्ने डर भए झैं , तर्सिरा'छु गाँठे !

    ReplyDelete
  4. हैन दीपकजी किन त्यसरी तर्सिनुभाको नि। मलाई त तपाई तर्सेको पटक्कै मन परेन। तपाई त खुकुरी बोकेको मान्छे। भुत्ते भएर के भो त जंगलमा ढुंगाको के कमी। सँधै खुकुरी बोक्दै आएको मान्छेले ढुंगामा शान लाउन कुन ठूलो कुरा भो र। अनि त च्वाट्ट च्वाट्ट काट्ने भइहाल्छ नि। अनि त के चाहियो र जेसुकै पनि त्यसैले ढाल्न सक्नुहुन्छ नि दीपकजी।

    ReplyDelete
  5. हो त है कैलाश जी , ढुँगा पहरामा पनि खुर्पा , खुकुरी उध्याउन सकिन्छ भन्ने त होसै भएनछ । वास्तवमै खुकुरी , खुर्पा अर्जाप्ने साधन नहुनेले ढुँगामै उध्याउनु पर्दो रहेछ ।

    ReplyDelete
  6. कैलाशजी अनि वसन्तजी दुवैप्रति अत्यन्तै ऋणी छु है । प्रति-प्रतिक्रिया ठेल्न अलि बेर भएकोमा सधैँजस्तै माफीको भाका पनि समक्षमा बिसाउँछु । ब्लग सुरु गरेयता यत्तिको वेगवान् झटारो खाएको थिइनँ, आज ताल पर्यो । स्वाद पनि लाग्यो, आत्मा साक्षी राखेर भन्दा यहाँहरू दुवैको औँल्याइलाई आफूबारेको प्रस्ट रौँचिरा विश्लेषण मानेको छु । आगामी दिनमा पनि यसैगरी मन खोलेर अभिमत दिन सङ्कोच नमानिदिनुहोला । नत्र त यहाँ कतै हावाकै तन्नामा गुल्टी खेलाउने बोक्रे प्रशंसाका भारी त कतै भित्तैमा पुर्याएर किचिमिची पार्ने अन्धाधुन्ध आलोचना -यसलाई खोइरो खनेको भनौँ कि अश्लील हर्कत भनौँ) नेपाली आनीबानीको राष्ट्रिय संस्कृति नै भइसकेको छ ।
    अब मुद्दातिर लागौँ । कैलाशजीको ठम्याइ हरेक हिसाबले मनासिब छ । मैले पनि लेखाइमा उनिएर आएको त्यो पाटोलाई पूरै ओझेलमा पारेर सोइपरी सबै सही भनेझैँ भएछ, तपाईँले भनेपछि मेरो भूलसँगै नेपाली साहित्यको पूरै एक फक्लेटा खियादार खम्बा चिरिएर देखा पर्यो । यो कुरा उजागर पार्नमा वसन्तजीको बल पनि मलाई भरपूर मिल्यो है ।
    निश्चय पनि त्यो मेरो नियोजित र जानाजानी चिन्तन थिएन । सायद पितृसत्तात्मक समाजको धङधङी यो रगतमा जन्मँदै आएको थियो र त्यो लेखाइमा समेत हुँडलिएर पोखिएको हो भन्नु त म उम्किने दाउ मात्रै हो । गहिरोसँग जकडिएका विभेदकारी प्रचलन र संस्कारलाई सही, अर्धसही र गलत रुपमा छुट्याई संरक्षण, संशोधन र उन्मूलन गर्ने पुस्ता त हाम्रै हो ।
    आजसम्म पुरुषवादी दृष्टिविन्दुबाटै एउटा ठूलो हिस्साको मूलधारको साहित्य लेखिएर आयो, त्यो अद्यापि जारी छ (मेरै उदाहरण काफी छैन र !) । अझ मुख्यगरी गीत-गजलमा यस्तो लेखाइ हावी छ । पुरुषवादी मानसिकताको सिकार सिङ्गो साहित्यवृत्त हुँदा तपाईँजस्तै चिन्तित म पनि छु । यस्तो कुप्रथाको निरन्तर क्रमसङ्गतिमा समग्रमा समझदार युवा जमात नै पिरोलिन्छ । आम पाठकका लागि त्यो पनि सिङ्गो कवि जमातलाई आहृवान गर्दै लेखिएको एउटा लेखमा 'सिन्दूरको रेखा कोर्न हात सोझ्याऊ कविजी' भन्दा त्यसबाट नारी कविहरूलाई उपेक्षाभाव र विच्छेदको रेखा कोरिएको प्रस्टै छ । लेखनमा विषयवस्तु र प्रस्तुतिको यस्तो विभाजनकारी सीमा पाठक/स्रोताको हकमा पनि पक्षपातपूर्ण छ र आजसम्मका धेरै साहित्यमा रहँदै आएको छ ।
    आगामी लेखाइमा पक्कै खबरदारी गरेको छ । निश्चय पनि नारी-पुरुष स्रष्टा र पाठक दुवैलाई समेट्ने विम्ब र प्रतीकको शब्द/वाक्यतर्फ ध्यान लाग्नेछ । नारी कवि/लेखक खरो उत्रिएका छन् भन्नेमा शङ्कै छैन । म आफैँ पनि घरभित्र एउटी नारी लेखकको स्याहारसम्भार र विकासमा दत्तचित्तले सहयोगी बल दिइरहेको मान्छे, त्यस्तो अन्याय कसरी पो हुन सक्थ्यो र ? बडो पुण्यकारी दिशानिर्देश भयो । तर यो लेखाइ एउटा उदाहरण मात्रै हो । बहसको थालनीको लागि जग उठेको छ । नारीको मुद्दा नारीहरूले मात्र उठाउनुपर्छ भन्ने सङ्कुचित सोच थोत्रिइसक्यो । हातेमालो गर्ने हात कैलाशजीसँगै वसन्तजीलगायत हामी सबैको छ ।
    पुनः आभार चढाउँछु तपाईँहरूप्रति ।

    ReplyDelete
  7. Dear Jaditji,
    why are you so afraid?
    Their is no reason to have fear along the journey. Becoz we have to do it.

    ReplyDelete