July 11, 2008

शोभराजकी प्रेमिका र मिडियाको तालु

सामाजिक बजार कुनै न कुनै युवतीको उर्लँदो भाउलाई चर्काचर्की नगरी कहिल्यै छुट्टी मनाउँदैन । महाभारतकी कुन्ती, द्रौपदी हुन् या रामायणकी सीता । यता हामी बाँचेको समयमा हेर्‍यौँ भने भारतकी सिनेमा-सुन्दरी ऐश्वर्या राय चर्चा र चाखकी एउटी उदाहरण हुन् । बलिउडका बिग बी का रुपमा चिनारी रोपेका अमिताभ बच्चनका सुपुत्र अभिषेकसँग लगनगाँठो बाटिएपछि ऐश्वर्या रायको चमक सिन्दूरको पत्रभित्र धूमिल हुँदै गयो । यस घटनाबाट यति बुझौँ, कुमारी चर्चामा बजारले फुर्सदसाथ रमाइलो भोग्दो रहेछ । उनी अहिले बजारबाट टाढिएकी छन् । भलै ऐश्वर्याको वाहवाहीले उनको वैवाहिक यात्रासँगै टाप कसेको होस्, उनीपछि अरुहरू त्यस्तै रौनकताले यो सामाजिक बजारलाई चर्चा गर्ने इलम जुटाइरहेका छन् । विज्ञापनको नाम बनाइएका छन् । यस्तै एउटा नाम हो- निहिता विश्वास ।

अदालतबाट फैसला भई हत्याको आरोपमा केन्द्रिय कारागार काठमाडौँमा कैदको सजाय काटिरहेका कथित अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराजकी २० वर्षीया प्रेमिकाका रुपमा निहिता अहिले राष्ट्रिय-अन्तर्राष्ट्रिय मिडियामा छाएकी छन् । मिडियामा यस अद्भूत प्रेमप्रसङ्गको कभरेज हेर्ने हो भने रातारात पोखराका बालक कमल नेपाली राष्ट्रिय नायकमा स्थापित भएको घटनालाई धूलो चटाइदिएको छ । मानौँ व्यस्त सडकमा शोभराज र निहिता हातेमालोमा अघिअघि भागिरहेछन् र आम मिडिया पर्सनहरू कलम, नोटबुक र क्यामेरा तिखार्दै ठेलमठेल भीडमा पछिपछि कुदिरहेछन् । गजबको सूचना-गाईजात्रा !

पत्रकारिताको पाँच वर्षलामो (खासमा छोटो) औपचारिक अध्ययनका क्रममा एउटा कुराले सधैँ मलाई मोहनी छुटाइरहन्थ्यो । मानव अभिरुचिका सामग्री आम सर्वसाधारणमाझ सञ्चारकर्मी बिक्ने सबैभन्दा सहज बाटोको रुपमा मैले बुझेको थिएँ । तर रोचकता बाँड्ने नाउँमा एउटै व्यक्ति र घटनाको खेदो खनेर त्यही सनसनीपूर्ण प्रचारको जगमा मिडियाले आफ्नो चर्चायात्रा बढाउन खोज्नु पक्कै शोभनीय हुन्न । मिडिया यति कमजोर र आश्रति हुनुहुन्न, कुनै घटना र सामग्रीको टेको लिएर आफ्नो बजार बढाउनु परोस् । तर शोभराज-निहिता प्रसङ्गमा मिडियाले आफ्नो तालुको कुरकुरे हाड आखिर कुहिसकेको साबित गरेरै छाडे ।

शोभराजजस्तो अन्तर्राष्ट्रिय अपराधीको जीवनशैली के-कस्तो रुपमा अग्रसर हुँदै छ, उनको मुद्दा कुन निकासमा पुगेको छ वा अड्किएको छ, यो जानकारी दिनु मनासिब होला । तर '२० वर्षीया ठिटी आई, औँठी लगाई, शोभराजकै लागि जन्मेकी हुँ भनी, प्रेमीको व्यक्तित्व आकर्ष भएको दाबी गरी, नेपालको कानुनले छेके पनि फ्रान्समा गएर ६४ वर्षीय बूढोको दुलही बन्छु भनी' भनेर सनसनी व्यापार मच्चाउनु मिडियाको गएगुज्रेको ताल हो । आज देश र जनताको सुविधा र सहज जीवनयापनको लागि कर्तव्यनिष्ठ हुनुपर्ने मिडिया एउटी युवतीको मुखमण्डलमा केन्द्रित हुनु र उसको वक्तव्यमा आश्रति हुनु मिडियाक्षेत्रकै लाजमर्दो अवस्था हो । खाद्यान्नको अभावले देशको पश्चिमी भेगमा नागरिकको कत्लेदार पेट देखिएको छैन, मिडियाको आँखीझ्यालमा जेलको कैदीकी प्रेमिकाको औँठी चमक छरिरहेछ ।

***
जुलाई १०, २००८ (नक्साल)

1 comment:

  1. मेडियाले देखाएको यो रुचि मलाई पनि तुक न तालको लाग्छ। यी सबै घटनाक्रमहरु कतै शोभराजलाई 'मानवीय' र 'प्रेमी'को रुप दिएर उसको मुद्दालाई प्रबावित पार्ने जाल पनि हुनसक्छन्।
    गज्जब छ, यस्ता पत्रु पात्रहरुलाइ महिमामण्डित नगरी हाम्रा मेडियावालालाई खाएको पच्दैन।

    ReplyDelete