Subscribe:

Ads 468x60px

01 April 2008

धेरै पुरानो लाग्छ चिनारी ...

साहित्य र पत्रकारिताको दुई बैशाखीबाट जीवनको सन्तुलन खोजिरहेको एक युवा हुँ । साहित्यकै पृष्ठभूमिबाट पत्रकारितामा तानिएँ, पत्रकारितामा कुनै चुम्बकीय शक्ति देखेर होइन । जे देख्छु - अक्षर, भावना र विचारमा देख्छु । सूचना त केटाकेटी छँदा सलाइका मसिना दुईवटा बट्टा वारपार धागोमा बाँधेर एकापसमा फुसफुसाउँदा पनि धेरै थोक पाए झैं लागेकै थियो । अधकल्चो सूचनाको व्यापार हुने समाचारको दुनियाँभन्दा बरु साहित्यमा शक्ति र महाशक्ति नै पाउँछु ।

तर, खाली ठाउँ पनि छ साहित्यिक कित्तामा । साहित्य सिर्जनामा कल्पनाशीलताको महत्व आफ्नो ठाउँमा छ, कल्पनामा बहकिने र आदर्शको अफिम ढुवानी गर्ने क्रममा नेपाली साहित्यमा उडन्ते गफ धेरै भए कि जस्तो लाग्छ । हाम्रो साहित्यले समाज र सत्यतथ्यसँग एकाकार हुनुपर्छ अब ।

जुलाई २००९ देखि कान्तिपुर टेलिभिजनमा न्युज डेस्कमा कार्यरत छु । जिन्दगीको अनावश्यक लम्बाइ, चौडाइ र कुरुपता काँटछाँट गर्न ढंग नपुगे पनि समाचारको सिउर र पुच्छर छाँटेर जिन्दगीको गुजारा चाहिं चलाउँदै छु ।

1984 (Sep 6) मा मामाघरमा जन्मिएँ रे म, सर्लाही जिल्लाको राइटरखोर गाउँमा । त्रियुगा नगरपालिका – १२ उदयपुरमा हो मूल जरा र बसोबास । २०५८ सालदेखि काठमाडौं-कुवामा पौडिन आइपुगेको हुँ । पखेटा भिजेर, थाकेर लोथ भइसके पनि जाँगर त अझ निकाल्नै बाँकी पो छ भन्ने भम्र दिइरहेछु आफूलाई ।

साहित्यका साथै फोटोग्राफीमा पनि रुचि छ । शब्दमा जस्तै फोटोग्राफीका रेखा र प्वाइन्टहरुमा अभिव्यक्त भएर पोखिएको उल्लासमा रमाउने गर्छु ।

Blog !

ब्लगर डट कममा नोभेम्बर 2006 मा खाता खोले पनि अप्रिल 2008 देखि लेख्न सुरु गरें ।
अभिव्यक्ति छताछुल्ल पार्ने नयाँ माध्यम खोज्ने क्रममा ब्लग उपयोगी देखें । यहाँ विविध विषयमा लेख्दै आए पनि साहित्य नै यस ब्लगको ढुकढुकी रहनेछ ।

Contact :
Email : dhaibaji@gmail.com / life.dhaiba@yahoo.com / dhaibagvn@hotmail.com
You may also find me on Twitter  and Facebook

Mailing address : Kantipur Television, Tinkune Subidhanagar, Kathmandu, Nepal.
--------------------------------------------------------------------------------------------------------
एक थोपा समुद्र
  • समुद्र बन्ने ध्याउन्नमा हामी थोपाहरू गुडुल्किँदै बग्छौं । कहिले योजनाबद्ध, कहिले मनमौजी । प्राय:जसो, बनाएको योजनाअनुसार लिक नचल्दा कहिले भने बाटो नै नबनाउँदा पो गति ठीक रुपमा अघि बढ्ने हो कि भन्ने भ्रमले हामीलाई छोप्छ । र हामी नबनाएको बाटोमा पैंताला खियाउँछौं । नबनाएको योजनाका खातामा जिन्दगीको योगफल रच्न बुकुर्शी मार्छौं ।
  • जति दौडिए पनि, जता चाल मारे पनि आखिर हामी थोपा !
  • कहिले भीडमा पिसिएर लाखापाखा लागे जस्ता सपनाका हाम्रा भरियाहरू । कहिले निकै चुलीमा पुगेर झण्डा फहराए जस्ता हाम्रो जोशका आरोहीहरू । तब लाग्छ- हामी एक मात्र पात्र त हुँदै होइनौं । र बहुपरिचय हाम्रो एउटा अनुहारसँग जोडिएको छ । यसैले सपनाको भरियालाई चुइँचुइँ हिँडाइरहन्छौं, जोशका आरोहीहरूलाई होस्टे बोलीमा काँध दिएर ठेलिरहन्छौँ । यात्रा त शङ्खेकीराले पनि गरेकै हुन्छ ।  तर हाम्रो सपना र जोसको यात्रामा कतै पुग्ने-नपुग्ने ठेगानाको तारतम्य गाँसिएको हुन्छ, यस्तोमा ठेगाना किटेरै पनि हामी कतै पुग्न पनि सक्छौं र नपुग्न पनि । हामी थोपाको के निश्‍चितता ?
  • ‘गागरमा सागर’ भनाइ धेरै सुनिन्छ । थोपाको एक झुप्पा योग: गागरमा हामी अलि ठूलो थोपाको पहिचान देख्छौं। हामीलाई लाग्छ सपना र परिचयको मैदान अझै सेलाइसकेको छैन । ‘वैज्ञानिकहरूले सबै कुरा आविष्कार गरिसके र मात्र, नत्र मैं पनि के कम हुँदो हुँ’ भन्ने झोँकमा च्याट्ठिने हामीमध्ये कतिपय युवा हुँदा हौं । एउटा-एउटा विद्रोहको ज्वारभाटाले हाम्रो मस्तिष्कको मुलायम भित्तामा कति-कति लात मार्दा हुन् ।  हामी  एकै थोपा भए पनि कहाँ चुप लागेर बस्न सकौंला !
  • यसैले, हामी थोपा मात्र त हुँदै होइनौं, समुद्र हौं समुद्र – एक थोपा समुद्र ।

8 comments:

  1. सार्है रार्मो लाग्यो!

    ReplyDelete
  2. "हामी थोपा मात्र त हुँदै होइनौँ, समुद्र हौँ समुद्र – एक थोपा समुद्र ।"

    ReplyDelete
  3. Rachana BhattaOctober 24, 2010

    Nicely done............
    Wish you a successful life ahead: equally in journalism and literature...........

    ReplyDelete
  4. भाव सुन्य म पनि होइन, शब्द म पनि ओकल्न सक्छु तर शब्दशिल्पी जोतारे धाइबाले कुन साँचोमा हालेर खिप्दाहुन् ती खिरिला शब्दहरु ।
    शुभकामना उज्ज्यालो आगतको !

    ReplyDelete
  5. हुन त धेरै फुर्क्यायो भने मान्छे मात्तिन्छ भन्छन, तर मलाइ शव्दसँग खेल्ने र बुन्ने कसैको शिल्पशैली साह्रै मन पर्छ भने त्यो हो - जोतारे धाइबा ।

    ReplyDelete
  6. aafu lae ta jati jhataro haane pani naam ta jeevan karki nae pyaro laagchha..jotare dhaiba bhanda aafno sano sathi nae hoina ki jasto lagchha kahile kahi..;)

    ReplyDelete
  7. likess...

    ReplyDelete
  8. समुद्र बन्ने ध्याउन्नमा हामी थोपाहरू गुडुल्किँदै बग्छौं । कहिले योजनाबद्ध, कहिले मनमौजी । प्राय:जसो, बनाएको योजनाअनुसार लिक नचल्दा कहिले भने बाटो नै नबनाउँदा पो गति ठीक रुपमा अघि बढ्ने हो कि भन्ने भ्रमले हामीलाई छोप्छ । र हामी नबनाएको बाटोमा पैंताला खियाउँछौं । नबनाएको योजनाका खातामा जिन्दगीको योगफल रच्न बुकुर्शी मार्छौं ।

    ReplyDelete